: नेपाली कांग्रेसका सभापति गगन थापाले चैतको पहिलो हप्ता कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा कांग्रेसले आयोजित कार्यक्रममा उनले बैशाख १ गते नेपालको नाममा सम्बोधन गर्दै ५ वर्षको प्रतिज्ञा सार्वजनिक गर्ने जानकारी दिए।
उनले एउटा कुनै व्यक्तिले मात्र नेपालमा चमत्कार गर्न नसक्ने बताए। उनले कांग्रेसले टिम नेपाल बनाउने र त्यसले कांग्रेसको प्रतिज्ञा पत्रअनुसार प्रतिबद्धता पूरा गर्न सबै दललाई साथमा लिएर अगाडि बढ्ने जानकारी गराए।
उनले सांसदको संख्या समेत घटाउने प्रतिबद्धता व्यक्त गरे। उनले संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने उल्लेख गरे। थापाले अव सरकार नियुक्तिमा दल नभई अब्बल व्यक्ति खोजिने बताए। सभापति थापाले प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने जानकारी गराए।
उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने धारणा राखे। उनले भ्रष्टाचार अन्त्य गर्न र सरकारलाई जवाफदेही बनाउन आयोग बनाएर २०४८ सालेदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए।