: यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन पाल्पामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । निर्वाचन एकीकृत सुरक्षा समिति पाल्पाले मतदानको दिन आइपर्ने चुनौतीलाई मध्यनजर गर्दै तानसेनमा एक विशेष नमुना मतदान तथा सुरक्षा रणनीति सैन्य अभ्यास प्रदर्शन गरेको छ ।
जति जति नजिक निर्वाचनको समय आउछ, निर्वाचनमा खटिने सुरक्षाकर्मीहरुको चुनौती बढ्दै जान्छ । निर्वाचनमा खटिने निर्वाचन प्रहरीसहित राज्यका ३ वटै सुरक्षा निकायहरु निर्वाचनको माहोललाई शान्तिपूर्ण बनाउन दिनरात खटिएका छन् ।
मतदानस्थलमा हुने सुरक्षा चुनौती अभ्यासका क्रममा कुनै समूहले नियम विपरित जवरजस्ती मतदानस्थल कब्जा गर्न खोज्दा उत्पन्न हुने तनावलाई एकीकृत निर्वाचन सुरक्षाकर्मीले व्यबस्थापन गरी समाधानको नमुना अभ्यास देखाइएको हो । मतदानस्थलको पहिलो घेरामा रहेको नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी र अन्त्यमा नेपाली सेनाको समन्वय मतदान अधिकृतको सहजीकरण बाट समस्या समाधान उपाय देखाइएको थियो ।
निर्वाचनको दिन हुन सक्ने सुरक्षा चुनौतीलाई मध्य नजर नेपाली सेना दि फेमस महिन्द्र दल गणको अगुवाईमा एकीकृत सुरक्षा चुनौतीसहितको नमुना मतदान पाल्पाको तानसेनमा भएको हो । निर्वाचनको सुरक्षामा नेपाली सेना तेस्रो घेरामा रहन्छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासले मात्र स्थिति नियन्त्रणमा आएन भने एकीकृत सुरक्षा योजना अन्तर्गत सेना मतदानस्थलमै परिचालन हुन्छ । नमुना अभ्यासमा रणनीतिक सुरक्षा र वार्तामार्फत रोकिएको मतदान सुचारु गर्ने भन्ने सफल परीक्षण गरेका दि फेमस महेन्द्र दल गण, पाल्पाका प्रमुख सेनानी शान्तकुमार थापाले बताए ।
निर्वाचनको पहिलो र मुख्य सुरक्षा घेरामा नेपाल प्रहरी, निर्वाचन प्रहरी खटिन्छन् । मतदानस्थलमा उत्तेजित भिडलाई रोक्ने, सम्झाउने बुझाउनेदेखि आवश्यक परे अन्य सुरक्षा निकायको सहयोग लिई मतदानस्थल र मतदाताको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी खटिएको हुन्छ । तानसेनमा भएको सुरक्षा चुनौती नमुना अभ्यासले फिल्डमा खटिने प्रहरीको मनोबल बढाएको, समन्वय र आपसी सहकार्यमा स्मरण गराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रम्ख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु एकीकृत निर्वाचन सुरक्षा समिति प्रमुख दायित्व र कर्तव्य र जिम्मेवारी हो । एकीकृत सुरक्षा समितिको यो अभ्यासले पाल्पाको सुरक्षा निकायबीचको समन्वयलाई मजबुत बनाउँदै आत्मविश्वास बढाएको छ । पाल्पामा कुनै पनि प्रकारका निर्वाचन विरोधी सुरक्षा क्रियाकलाप र सुरक्षा चुनौतीलाई निस्तेज पार्न सक्षम छौँ भन्ने गरी जनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए ।
नमुना मतदानमा स्थानीयवासीको पनि सक्रिय सहभागिता रह्यो । ज्येष्ठ नागरिकदेखि, महिला तथा पहिलो पटक मतदान सहभागी मतदाताहरु नमुना मतदान गरे । सहभागी स्थानीय बासिन्दाहरूले यस अभ्यासबाट मतदान गर्ने सही तरिका र सुरक्षा व्यवस्थाबारे स्पष्ट जानकारी पाएको स्थानीय मतदाता पुरुषोत्तम गैरेले बताए ।
lनमुना मतदानमा सहभागी सर्वसाधारणलाई साँच्चै नै मतदानको दिन फागुन २१ गते नै आए जस्तो भएको छ । मतपत्र कसरी लिने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने अनि मतपत्रलाई नबिग्रने गरी कसरी पट्याउने भन्ने कुरा मैले आज प्रष्टसँग सिकेको नमुना मतदानमा सहभागी मखनमाया गुभाजु बज्राचार्यले बताइन् ।
निर्वाचन सुरक्षाको यो नमुना प्रदर्शनीले सुरक्षा निकायको कार्यक्षमता मात्र होइन, आम मतदातामा सुरक्षाको प्रत्याभूति समेत गराएको छ । यस्ता नमुना मतदानसहित एकीकृत निर्वाचन सुरक्षा विधि र प्रक्रियाको अभ्यास गाउँ–गाउँमा पुर्याउन सके निर्वाचन शान्तिपूर्ण, भयरहित र विश्वसनीय बनाउन सहयोग पुग्ने छ । पाल्पा जिल्लाको क्षेत्र नं. १ मा ५२ वटा मतदानस्थलको ११७ वटा मतदान केन्द्रमा ९८ हजार ३ सय ८३ मतदाता रहेका छन ।
यसै गरी क्षेत्र नं. २ मा ६६ वटा मतदानस्थलको १३४ वटा मतदान केन्द्रमा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन । पाल्पामा निर्वाचनको लागि विभिन्न किसिमका तयारी पूरा भएसँगै अब सबैको ध्यान फागुन २१ को मतदानतर्फ सोझिएको छ । पाल्पामा दुई सिटको लागि क्षेत्र नं. १ मा १४ जना र क्षेत्र नं. २ मा १६ जना उम्मेदवारहरु प्रतिष्पर्धामा छन् । पाल्पामा १ हजार ५ सय १८ जना निर्वाचन कर्मचारीहरु परिचालन हुँदैछन् ।