: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन (अनन्त) ले कुन ठाउँमा के बोल्दा मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरुले देशको नेतृत्व लिन नसक्ने दाबी गरेका छन्। रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपालाई संकेत गर्दै उनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने टिप्पणी गरेका हुन्।
स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताए। ‘काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर गएपछि संघीयता चाहिन्छ भन्ने। काठमाडौंमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरु र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौं भन्ने’, रास्वपाका वरिष्ठ नेता बालेनप्रति लक्षित गर्दै पूर्वमन्त्री पुनले भने, ‘जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ। हामी नयाँ हौं भन्ने साथीहरुलाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न म आग्रह गर्न चाहन्छु।’
पुनले विचार, राजनीति र एजेण्डाले नेपाली कम्युनिष्ट पार्टी नयाँ दल भएको दाबी गरे। ‘विचारले नयाँ, राजनीतिले नयाँ, एजेण्डाले नयाँ हामी हौं’, उनले भने, ‘यथास्थितिवादी र नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी पनि होइनौं हामी। जनताले बुझ्नुपर्ने विषय यो छ।’
राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो बनेकाले आफूहरू स्वाधीनता, सुशासन, समृद्धि र सामाजिक न्यायको स्पष्ट एजेण्डा समेटिएको चुनावी घोषणापत्रसहित चुनावमा होमिएको उनको भनाइ छ।
उनले रोल्पाले सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा र सिंचाइजस्ता पूर्वाधार विकासमा विगतको तुलनामा फड्को मारेको दाबी गर्दै अधूरो आयोजना पूरा गर्न आफ्नो तर्फबाट सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरे।