— फागुन दोस्रो सातामा पनि नारखोलाको खोंचमा दिनभर खासै घाम लाग्दैन । नार्पाभूमि गाउँपालिका–१ मा पर्ने धर्मशालाको चिसो आँगनबाट २० जना सुरक्षाकर्मी गल, गैंती, घन, बेल्चा र हिउँ काट्ने बन्चरो काँधमा बोकेर उकालो लाग्छन् ।
करिब ३ हजार ३ सय मिटर उचाइँमा रहेको झरनामा चिसोले बरफ जमेर चट्टान बनेको छ। धर्मशालामाथि जमेको झरना सेना–प्रहरीको बलले खुल्दैछ ।
चट्टान फोडेर बनाइएको पदमार्गमाथि बग्ने झरना चिसोले ढुंगाजस्तै जमेको छ । हिँड्नै नमिल्ने ठाउँको बाटो खुलाउन सेना–प्रहरी ४ दिनदेखि निरन्तर खटिरहेका छन् ।
टोलीमा नेपाली सेनाको नयाँ भैरवी दल गुल्म, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म र जिल्ला प्रहरी कार्यालय मनाङका सुरक्षाकर्मी छन् । नेपाली सेनाका जमदार भूमिराज सुवेदीको नेतृत्वमा टोलीले बिहानदेखि साँझसम्म जमेको बरफ फुटाइरहेका छन् । बरफ सतहमा मात्रै छैन, चट्टानसँगै टाँसिएर बाक्लो तह बनेको छ । सुरक्षाकर्मीहरु पालैपालो घन बजार्छन्, फुटेको बरफ गल र बेल्चाले पन्छाउँछन् ।
‘झरनाको बरफ हटाउँदै चट्टान फोडिरहेका छौं । बाटो खुलेपछि आवतजावत सहज हुन्छ,’ टोलीमा संलग्न एक सुरक्षाकर्मीलाई उद्धृत गर्दै एक प्रहरीले भने । सुरुका २ दिन आफैले खाद्यसामग्री लगेर धर्मशालामा बसेका सुरक्षाकर्मीलाई अहिले प्रहरीमार्फत खाद्यान्न पुर्याइएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले केही दिनमै बाटो खुल्ने दाबी गरे । चिसोले जमेको झरना फोड्नेकार्य सकिएपछि सुरक्षाकर्मीले त्यसअघिको बाटामा जमेको बरफको चट्टान पनि हटाउने छन् । यो बाटो बन्द हुँदा नार्पाभूमि गाउँपालिकाको मतदान केन्द्रको अनुगमन हुन सकेको छैन ।
मनाङ सदरमुकाम चामेनजिकै कोतोबाट नार्पाभूमिका ती मतदान केन्द्र पुग्न हिँडेर २ दिन लाग्छ । अवरुद्ध स्थानसम्म पुग्न मात्रै सुरक्षाकर्मीलाई ६–७ घण्टा पैदल हिँड्नुपर्छ । नार्पाभूमि गाउँपालिकाका वडा–१ देखि ३ सम्म नार क्षेत्रमा ३ र वडा–४ र ५ को फू क्षेत्रमा २ गरी ५ वटा मतदान केन्द्र छन् ।