— काठमाडौंबाट हिले आउँदै गरेको माइक्रोबस धनकुटा–१ निगालेमा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् ।
जिल्लाप्रहरी कार्यालय धनकुटाका अनुसार ग २ ख १९५७ नम्बरको माइक्रोबस शनिबार दिउँसो निगाले क्षेत्रमा अनियन्त्रित भई सडकबाट तल खसेको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक पाण्डव राजबंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीय र अन्य यात्रुको सहयोगमा घाइतेहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । उनीहरूको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।