— गत महिना एक साता लामो डढेलोको धुँवा पन्छिएसँगै सिन्धुपाल्चोकको उत्तरी भेगको जनजीवन बिस्तारै लयमा फर्किन थालेको छ।
धुँवा हटेसँगै तातोपानी नाका आसपास मानिसको आवतजावत र साना व्यापार–व्यवसायमा चाप बढेको देखिन्छ । लिपिङ र तातोपानी बजारमा सवारीसाधनको ताँती लागेपछि नाका पुनः चलायमान हुने झिनो आशा स्थानीयमा पलाएको छ ।
यही चहलपहलबीच फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोक–१ अन्तर्गतको सीमा क्षेत्रमा राजनीतिक सरगर्मी चर्किएको छ । यहाँका मतदाताको प्राथमिकता स्पष्ट छ- तातोपानी नाका सहज बनाउने र खासा पूर्णरूपमा खुलाउने उम्मेदवारलाई नै मत । 'जसले खासा खुलाएर भूकम्पअघिझैं भव्य र व्यवहारमै चल्ने नाका बनाउँछ, उसैलाई भोट दिन्छौँ', भोटेकोशी गाउँपालिका–२ की चिनि शेर्पाले भनिन् ।
भौगोलिक विकटता रहेको भोटेकोशी र बाह्रबिसेको माथिल्लो भेगमा कृषि उब्जनी सीमित छ । रोजगारीका अवसर नहुँदा यहाँका बासिन्दा वैदेशिक रोजगारी वा नाकामै निर्भर साना व्यापार–व्यवसायमा सीमित हुन बाध्य छन् । केही समययता व्यापारिक गतिविधि बढे पनि चिनियाँ खासा बजार पूर्णरूपमा नखुल्दा नाका अझै सम्पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।
ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
२०७२ को भूकम्प र कोरोना महामारीपछि व्यापार क्रमशः सामान्यतर्फ फर्किए पनि निर्यात र मानिसको आवतजावत अझै लगभग ठप्प छ । हाल मितेरी पुल नजिकका करिब दुई दर्जन साना पसलसम्म पुगेर मात्र सीमावासीले घरायसी सामग्री किन्न पाउँछन् ।
स्थानीयका अनुसार घरायसी प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रमा प्रवेश अनुमति दिइन्छ । भूकम्पपछि ठूलो क्षति व्यहोरेको खासा बजार अहिले तिब्बतको न्यालम जिल्लाअन्तर्गत पर्ने पूर्व–खासा (जाङ्मु पोर्ट) क्षेत्रमा मिनी सहरको अवधारणाअनुसार पुनर्निर्माण हुँदैछ ।
ठूला भवन, चौडा सडक, पुल र व्यवस्थित पार्किङ निर्माण भइरहेका छन्, जसले नेपालपट्टि पनि पूर्वाधार विस्तारको दबाब बढाएको स्थानीयको बुझाइ छ ।
सीमा नाकाको यात्रामा पुगेका अन्तर्राष्ट्रिय सम्बन्धमा चीनबाट पिएचडी गरेका पूर्वपरराष्ट्र सल्लाहकार डा. रूपक सापकोटालाई स्थानीयले खासाको व्यापार सहज बनाउनेलाई मत जाहेर गर्ने कुरा राखेका थिए । खासामा लागेको डढेलोपछि झोलेपोके व्यापार बन्द थियो । चिनियाँ पक्ष २५ फेब्रुअरीपछि मात्रै खोल्न चाहन्थे । किनकि, चिनियाँहरू स्प्रिङ फेस्टिभलको संघारमा छन् ।सीमावासीको रोजीरोटीको विषय भएकाले सापकोटाले चिनियाँ पक्षसँग सहजीकरण गरेर व्यापार सञ्चालनमा ल्याउन सहयोग गरेका थिए ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
सधैंको एजेन्डामा तातोपानी नाका
सिन्धुपाल्चोक–१ मा नेकपाका माधव सापकोटा, कांग्रेसका जंगबहादुर लामा, एमालेका सरेश नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली प्रतिस्पर्धामा छन् । उनीहरू सबैले तातोपानी नाका सहज बनाउने, रोजगारी सिर्जना, म्याग्नेसाइट सञ्चालन र समग्र विकासलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
नाकासँगै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । दुई प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा कांग्रेस, एमाले, नेकपासहित १५ राजनीतिक दल र तीन स्वतन्त्र गरी दुवै क्षेत्रमा ३६ उम्मेदवार चुनावी मैदानमा छन् ।
यस क्षेत्रबाट २०६४, २०७० र २०७४ का निर्वाचनमा तत्कालीन माओवादीका अग्नीप्रसाद सापकोटा विजयी भएका थिए । उनले हरेक चुनावमा तातोपानी नाका खुलाउने विषयलाई प्रमुख मुद्दा बनाउँदै आए ।
नेकपाका उम्मेदवार सापकोटाले आफ्नो ३३ महिनाको कार्यकालमा सडक र पुलका थुप्रै आयोजना अघि बढेको दाबी गर्छन् । 'कोदारी सडकमा करिब तीन अर्बको ठेक्का लागेर काम भइरहेको छ । नाका सुचारु भएको छ, अब यसलाई ट्रान्जिट हबका रूपमा विकास गर्ने योजना छ,' उनले भने ।
ads/multiple-company-box-d-1022026053655.jpg
कांग्रेसका उम्मेदवार जंगबहादुर लामा भने नाका सर्वसाधारणका लागि कहिल्यै सहज नबनेको बताउँछन् । 'चीनले मनमौजी ढंगले नाका बन्द गर्दा यहाँका व्यवसायीले सास्ती खेपिरहेका छन् । नाका व्यवस्थित र स्थायी रूपमा सञ्चालन गराउनु मेरो प्रमुख एजेन्डा हो,' उनले भने ।
एमालेका नेपाल र रास्वपाका पराजुलीले पनि तातोपानी नाकाको पुनर्निर्माण र अवरोध अन्त्यलाई चुनावको मुख्य एजेण्डा बनाएका छन् ।
अरनिको राजमार्ग पुनर्निर्माण र नाका सहज सञ्चालनका लागि संसद्मा पटक–पटक आवाज उठ्दै आएको थियो । झन्डै तीन अर्ब रुपैयाँको बजेटसहित बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडक निर्माण सुरु भइसकेको छ ।
डढेलोपछि खुलेको यो चहलपहलले तातोपानी–खासा क्षेत्रको सम्भावना देखाए पनि दीगो लाभका लागि नाका पूर्ण सञ्चालन, पूर्वाधार विस्तार र स्थानीय रोजगारी सिर्जनामा समन्वित पहल अपरिहार्य देखिन्छ । सीमावासीको एउटै सन्देश छ—खासा खुलाउने र तातोपानी चलायमान बनाउनेलाई नै यो पटक मत ।