— हेटौंडा उपमहानगरपालिका-२ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवकहरु पनि महिला नै राखिएका छन् । यी मतदानस्थलमा खटिने सबै सुरक्षाकर्मी पनि महिला छन् । ती ६ मतदान केन्द्रमा ३६ महिला कर्मचारी र २० महिला सुरक्षाकर्मी परिचालन हुने छन् । उक्त मतदानस्थलमा ५ हजार ४ सय ९३ मतदाता रहेका छन् ।
मकवानपुरका १६७ मतदानस्थलमा निर्वाचन गराउन २ हजार २ सय ४४ कर्मचारी खटिने भएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर एउटा मतदान केन्द्रमा कम्तीमा ६ जना र बढी ८ जना कर्मचारी खटिएका छन् । मतदाता संख्याको आधार कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले शुक्रवार निर्वाचनमा खटिने कर्मचारीको सूची सार्वजनिक गरेको थियो ।
मकवानपुर–१ मा ६२ मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रमा १ हजार ६८ कर्मचारी खटाइएको छ । क्षेत्र २ का १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र छन् । ती केन्द्रमा १ हजार १ सय ७६ कर्मचारी खटाएका छन् ।
प्रदेशको राजधानीसमेत हेटौंडामा भएका कारण सबै सरकारी र अर्धसरकारी कार्यालयका कर्मचारी सबै निर्वाचनमा खटिने अवसर पाएका छैनन् । निर्वाचन खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सोमबारदेखि तालिम दिने तयारी छ ।
मकवानपुरका २ वटा निर्वाचन क्षेत्रमा १६७ वटा मतदानस्थलमा ३७४ वटा मतदान केन्द्र रहेका छन् । तीमध्ये सुरक्षाको दृष्टिकोणले १९ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखेको हो ।
जिल्लाका १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी प्रवक्ता पुस्कर बोगटीले बताए । अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा २६ मतदान केन्द्र रहेका छन् । सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।
यसैगरी राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल र १ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा जिल्ला सुरक्षा समिती मकवानपुरले राखेको छ । यसैगरी जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् ।