: वीरगञ्जमा दुई फरक समुदायबीचको विषयलाई लिएर आइतबारदेखि उत्पन्न तनाव साम्य पार्न तीन बुँँदे निर्णय गरिएको छ ।
सोमबार अपरान्ह जिल्ला प्रशासन कार्यालय पर्सामा सद्भाव समितिको अग्रसरतमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा, हिन्दु र मुस्लिम समुदायका अगुवा सहभागी बैठकले तीन बुँदे निर्णय गरेको हो ।
वीरगञ्ज–११ श्रीपुरमा आइतबार बेलुकी भएको घटना तथा उक्त घटनाबाट सिर्जित घटनाक्रमका दोषीहरुलाई प्रहरीले कानुनी दायरामा ल्याउने र त्यसका पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशिघ्र अगाडि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । दोषीहरुलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले समेत सहजीकरण गर्ने निर्णय पनि भएको उनले बताए ।
यस्तै बैठकमा व्यक्तिगत घटना÷दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, समाजिक सञ्जालमा भाइरल बनाउने, ‘हेट स्पीच’ प्रशारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन वमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय पनि भएको बैठकमा सहभागी जसपा पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।
यस्तै आगामी दिनमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने निर्णय पनि गरिएको उनले बताए । यसका साथै जिल्ला सुरक्षा समितिको बैठक बसेर वीरगञ्जमा सोमबार बिहानदेखि लगाइएको कर्फयु आदेश हटाउने सहमति पनि बैठकमा भएको अहमदले जानकारी दिए ।
बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेशराज सुबेदी, सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, राजनीतिक दलका अगुवा, हिन्दु र मुस्लिम समुदायका अगुवा, सद्भाव समितिका सदस्यलगायतकाको सहभागिता थियो ।