: झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतदाता माझ सार्वजनिक गरेको वाचापत्रमा सुकुमबासी तथा भूमिहीन समस्या समाधानलाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका रहेका उनले ‘राजनीति पेशा होइन’ भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।
बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेका योजनालाई नै निरन्तरता दिने बताएका छन्। उनले दमक सभागृह र भ्युटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगि हुने गरी सञ्जालन गर्ने बताएका छन्। जेन्जी आन्दोलनमा भ्यू टावर तोडफोड र आगजनीको प्रयास समेत भएको थियो।
१०० दिनमा आयोग, १००० दिनमा समाधान
वाचापत्रको भूमि व्यवस्थापन शीर्षक अन्तर्गत झापा–५ मा रहेका भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि स्पष्ट समय सीमा तोकिएको छ । रास्वपा नेतृत्वको सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र न्यायोचित तथा दिगो समाधान निकाल्ने लक्ष्य राखिएको छ । बालेनले ऐलानी जग्गाको उचित व्यवस्थापन, नापी–नक्सा अभिलेख नभएका जमिनको अभिलेखीकरण र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने योजना अघि सारेका छन् ।
भूमि ‘बैंक’ र चक्लाबन्दीको अवधारणा
बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न ‘भूमि बैंक’ स्थापना गर्ने, जग्गा चक्लाबन्दी तथा एकीकरणलाई प्रवद्र्धन गर्ने योजना पनि वाचापत्रमा उल्लेख छ । यसले कृषियोग्य जमिनको उत्पादकत्व बढाउने र अव्यवस्थित बसोबासलाई योजनाबद्ध बनाउने लक्ष्य राखेको छ ।
शिक्षा र स्वास्थ्यमा संरचनात्मक सुधार
वाचापत्रमा शिक्षा क्षेत्र सुधारका लागि विद्यालय छोड्ने दर शून्यमा झार्ने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा र प्रयोगशाला स्थापना गर्ने उल्लेख छ । स्वास्थ्यतर्फ विपन्न परिवारका लागि निःशुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० शैंयामा स्तरोन्नति गर्ने तथा घर–घर स्वास्थ्य सेवा कार्यक्रममार्फत ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने प्रतिबद्धता जनाइएको छ ।
कृषि र पूर्वाधार : विकासको मुख्य आधार
झापा–५ को अर्थतन्त्रको मेरुदण्ड कृषि भएको उल्लेख गर्दै ‘कन्काई–रतुवा सिँचाइ योजना’ विस्तार गर्ने र ‘एक पालिका, एक शीत भण्डार’ अवधारणा लागू गर्ने योजना अघि सारिएको छ । पूर्वाधारतर्फ दमक–रवि–चिसापानी सडकको पूर्णता, हुलाकी सडक तथा पुलहरूको समयमै निर्माण र दमकलाई स्मार्ट सिटीका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
‘जनताको विश्वासलाई काममा रूपान्तरण’
बालेनले संसदमा बेथिति र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने संकल्प दोहोर्याउँदै भनेका छन्, ‘जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला ।’ झापा–५ मा करिब दशकौँदेखि जटिल बन्दै आएको सुकुमबासी समस्या समाधानका लागि उनले प्रस्तुत गरेको १००० दिने कार्ययोजना आगामी निर्वाचनमा मुख्य बहसको विषय बन्ने देखिएको छ ।