मुख्य समाचार
७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाए
७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाए

। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो ।

बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै र भीडमै मोबाइल चलाइरहेका पौल मेस्कललाई हल्का मजाक गर्दै माहोललाई रमाइलो बनाएका थिए ।

प्रारम्भिक विजेतामध्ये सीन पेनले ‘वन ब्याटल आफ्टर अनदर’ का लागि सहायक अभिनेता अवार्ड जिते भने ‘सिनर्स’ का लागि वुनमी मोसाकुले उत्कृष्ट सहायक अभिनेत्री अवार्ड हात पारिन् । प्राविधिक विधातर्फ ‘फ्रान्केनस्टाइन’ अग्रणी बन्यो, जसले प्रोडक्सन डिजाइन, मेकअप तथा हेयर र कस्ट्युम डिजाइनमा अवार्ड जित्यो ।

समारोहको सबैभन्दा ठूलो आश्चर्य भने रोबर्ट अरामायो उत्कृष्ट अभिनेता घोषित हुनु रह्यो । उनले ईई राइजिङ स्टार अवार्ड जितेपछि तिमोथी सालामे र लियोनार्डो डिक्याप्रियोजस्ता प्रतिस्पर्धीलाई पछि पार्दै यो सम्मान पाए ।

बेलायती अभिनेता अरामायोले वास्तविक जीवनका टुरेट सिन्ड्रोम अभियानकर्ता जोन डेभिडसनमाथि आधारित इन्डी बायोपिक ‘आई स्वेअर’ मा मुख्य भूमिका निर्वाह गरेका छन्, र डेभिडसन स्वयं समारोहमा उपस्थित थिए ।

डेभिडसनका टिक्स (अनियन्त्रित अभिव्यक्ति), जसमा कहिलेकाहीँ अपमानजनक शब्द पनि समावेश हुन्छन्, का कारण होस्ट कमिङले रातभरि दुईपटक दर्शकलाई समझदारीका लागि आग्रह गरेका थिए ।
रायन कुग्लरको ‘सिनर्स’ ले तीन अवार्ड जित्दै इतिहास बनायो, जसले यसलाई अश्वेत निर्देशकको सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म बनायो । यसले मौलिक पटकथा, वुनमी मोसाकुका लागि सहायक अभिनेत्री र लुडविग गोरान्सनका लागि मौलिक संगीतमा अवार्ड जित्यो । कुग्लर मौलिक पटकथा विधामा जित्ने पहिलो अश्वेत विजेता पनि बने । उनले आफ्नो भाषणलाई प्रेरणादायी सन्देश दिन प्रयोग गरे ।

उनले भने, ‘सबै लेखक साथीलाई, जब तपाईं खाली पानातर्फ हेर्नुहुन्छ, आफूले माया गर्ने मानिसको बारे सोच्नुहोस् । जसलाई पीडामा देख्नुभएको छ र जसको पीडा कम होस् भन्ने चाहनुहुन्छ, त्यही भावनाले तपाईंलाई लेख्न प्रेरित गरोस् । यो सम्मानका लागि म सधैं आभारी रहनेछु, धन्यवाद ।’

क्लोए झाओको ‘ह्यामनेट’ उत्कृष्ट बेलायती फिल्म घोषित भएपछि त्यसकी मुख्य अभिनेत्री जेसी बक्लीले उत्कृष्ट अभिनेत्री अवार्ड जितिन् । अस्कर दौडमा पनि चर्चामा रहेकी बक्लीले आफ्नो इमानदार र आत्मीय भाषणले दर्शकलाई हँसाइन् । भाषणका क्रममा उनले केही सह-मनोनितको नाम बिर्सिँदै “केट ! केट ! त्यहाँ हुनुहुन्छ,” भन्दै केट हडसनलाई सम्बोधन गरेकी थिइन् ।

बक्लीले अगाडि भनिन्, ‘तपाईंहरू सबै साहसी हुनुहुन्छ, शरारती केटीहरूका लागि काम गरिरहनुभएको छ, र तपाईंहरूको उत्कृष्ट प्रदर्शन देखेर म दंग छु ।’ त्यसपछि हाँस्दै स्वीकार गरिन्, ‘ओह भगवान, मैले आफ्नो नोट नै यहाँ ल्याउन बिर्सिएछु ।’



अन्यतर्फ, ‘सेन्टिमेन्टल भ्यालु’ ले अंग्रेजी बाहेकको भाषामा बनेको फिल्म विधामा जित्दै बाफ्टा अवार्ड जित्ने पहिलो नर्वेजियन फिल्म बन्यो । बेलायती अन्तर्राष्ट्रिय फिचर अस्कर प्रवेशिका ‘माइ फादर्स श्याडो’ ले उत्कृष्ट बेलायती डेब्यू अवार्ड हात पार्‍यो । ‘के-पप डेमन हन्टर्स’ का गायक ईजाए, अड्री नुना र रेइ आमीले बेलायतमा पहिलोपटक लाइभ प्रस्तुति दिए भने जेसी वेयरले ‘इन मेमोरियम’ खण्डमा बाब्र्रा स्ट्राइस्यान्डको गीत ‘द वे वी वेयर’ को कभर गाएर ट्रिब्यूट अर्पण गरिन् ।

समारोहअघि नै ‘वन ब्याटल आफ्टर अनदर’ १४ मनोनयनसहित अग्रस्थानमा थियो, जुन ‘गान्धी’ ले बनाएको १६ को रेकर्डभन्दा थोरै मात्र कम हो । त्यसपछि रायन कुग्लरको ‘सिनर्स’ १३ मनोनयनसहित नजिकै थियो । क्लोए झाओको ‘ह्यामनेट’ र जोश स्याफ्दीको ‘मार्टी सुप्रिम’ दुवैसँग ११-११ मनोनयन थिए । तर ‘मार्टी सुप्रिम’ भने कुनै पनि अवार्ड जित्न नसक्दै बाहिरियो र यससँगै बाफ्टा इतिहासमै सबैभन्दा धेरै हार बेहोर्ने फिल्मको रेकर्ड बराबरी गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...