— सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापूँजी ५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कम्पनीका अनुसार जीवन बीमा कोष ४ हजार ६१७ करोड रुपैयाँ, कुल लगानी ५ हजार १२० करोड रुपैयाँ र नेटवर्थ ६ सय १८ करोड रुपैयाँ रहेको छ।
यसैबीच कम्पनीले देशभरका शाखा कार्यालयमा कार्यरत शाखा सञ्चालनतर्फका कर्मचारीहरूलाई सहभागी गराई सेवा उत्कृष्टता तथा अनुपालन विषयक शाखा सञ्चालन भेला सम्पन्न गरेको छ। भरतपुरस्थित लर्ड्स सीबीसी प्लाजामा आयोजित कार्यक्रममा करिब २ सय कर्मचारी, विभागीय प्रमुख तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोकथामसम्बन्धी प्रशिक्षण दिएका थिए भने बैंकिङ तथा बीमा विज्ञ मनोज कुमार भट्टराईले सेवा उत्कृष्टतासम्बन्धी प्रशिक्षण सञ्चालन गरेका थिए। विभागीय प्रमुखहरूसँग अन्तरक्रिया सत्रसमेत सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले शाखा सञ्चालन कर्मचारी नै कम्पनीका सेवा दूत भएको उल्लेख गर्दै उनीहरूको कार्यसम्पादनले ब्रान्ड मूल्य र व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
हाल कम्पनीले देशभर १७६ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। १ लाख ७ हजारभन्दा बढी अभिकर्ता र ३६ लाख ३० हजारभन्दा बढी बीमालेखमार्फत सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ। साथै ३५ वटा घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ।