मुख्य समाचार
नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ
नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ

— नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । स्तरोन्नति थालिएको १२.२६ किलोमिटरमा अब तेस्रो अर्थात् अन्तिम चरणको कालोपत्रको काम मात्र गर्न बाँकी छ । झ्याप्लेखोलाको सय मिटर खण्डमा दोस्रो तहकै कालोपत्रको काम सकिइसकेको छ ।

तेस्रो तहको कालोपत्रको काम सडक बन्द गराएर गर्नुपर्ने भएकाले निर्वाचनअघि यो सम्भव नभएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘यस खण्डमा अब अन्तिम तहको कालोपत्र र खानीखोलामा आकाशे पुल निर्माणको काम बाँकी छ,’ उनले भने, ‘फागुनसम्म म्याद थपिएको भए पनि निर्वाचनले गर्दा उक्त समयमा काम नसकिने भएको छ ।’ सडक बन्द गर्नुपर्ने भएकाले यसबारे जिल्ला तहमा कुरा गर्दा चुनावअघि बन्द गरेर काम गर्न उपयुक्त नहुने जानकारी आएको उनले सुनाए ।

पहिलो खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएको छ । यही खण्डको खानीखोलामा पैदल यात्रीका लागि अपांगमैत्री आकाशे पुल निर्माण भइरहेको छ । २९ चैत २०७८ मा यस खण्डको ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २६ जेठ २०७९ मा मात्र सुरु भयो । २७ जेठ २०८१ भित्र काम नसकिएपछि माघ २०८१ सम्मका लागि म्याद थपिएको थियो । काम नसकिएपछि फेरि १० साउन २०८२ सम्मका लागि समय थप्दा पनि काम नसकिएपछि फागुन मसान्तसम्म समय दिइएको थियो ।

‘अन्तिम चरणको काम चुनावपछि नै गर्नुपर्ने भएकाले केही ढिला हुने देखिएको हो,’ ओझाले भने, ‘फागुनसम्म म्याद दिइएको थियो, यही बेला चुनाव पर्‍यो, चुनावले गर्दा कामदार भोट हाल्न जाने भएकाले फर्किन समय लाग्ने भएकाले काम सकिन चैत पुग्छ ।’ फागुनपछि थप कति समय दिने भनेर निर्णय भइनसकेको उनको भनाइ छ ।

दोस्रो खण्ड नौबिसे–मलेखु हो । यस खण्डको दूरी ४३.५४ किमि छ । असारअघि १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको थियो । यस खण्डको अहिलेसम्म प्रगति ५८ प्रतिशत रहेको साढे २१ किमि पहिलो तहको कालोपत्र दुईतर्फी नै सकिएको प्रमुख ओझाले बताए । दोस्रो तहमा १५ किमि सडक कालोपत्र भइसकेको छ । ‘पूरै ठेक्का नै चालु आर्थिक वर्षमा सकिँदैन, पहिलो चरणको कालोपत्रको काम भने सक्ने लक्ष्य छ,’ ओझाले भने, ‘अहिले स्ट्रकचर र पुल निर्माणको काम भइरहेको छ ।’ कालोपत्र र सडक सुरक्षाको काम पनि भइरहेको उनको भनाइ छ । यस खण्डमा पर्ने १३ पुलमध्ये १० वटाको काम सकिइसकेको छ । ‘बनिसकेका पुलको रंगरोगन र त्यसको अघिल्तिर रहेको पहुँच बनाउने काम भइरहेको छ,’ उनले भने, ‘पुलबाट गाडी नै चलाउन मिल्ने गरी काम भएको छ ।’

सोप्याङ, फेदी खोला र खहरे खोला पुलको निर्माण बाँकी छ । यस खण्डमा बिजुलीका पोल समयमै नहटाउँदा पनि कामको गति बढ्न नसकेको हो । अहिले यस खण्डमा पर्ने १ सय ६८ मध्ये अझै सय वटा पोल हटाउन बाँकी छ । ‘सोप्याङ र खहरे खोला पुलको काम भइरहेको छ,’ ओझाले भने, ‘फेदी खोला पुलमा मुद्दा–मामिलाका कारण समस्या थियो, अदालतबाट अन्तरिम आदेश नभएपछि काम सुरु गर्न खोज्दा घर पर्ने स्थानीयले अवरोध गरेका छन् ।’ चुनावपछि जिल्ला सुरक्षा समिति बसेर निकास निकाल्नेतर्फ लाग्ने उनले बताए । ‘चालु आर्थिक वर्षको असारसम्म यस खण्डको सबै पुलको काम सक्ने लक्ष्य छ,’ उनले भने ।

यो खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामाले जेभीले लिएको छ । १४ वैशाख २०७९ मा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्ने भए पनि नसकिँदा असोज २०८३ सम्म म्याद थपिएको छ । नागढुंगादेखि मुग्लिनसम्मको ९४.६६ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ । यो सडक भएर दिनहुँ १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । मलेखु–मुग्लिन खण्डको प्रगति भने तुलनात्मक रूपमा न्यून छ । तर, पछिल्लो समय कामलाई तीव्रता दिइएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डकी प्रमुख सजना अधिकारीको दाबी छ ।

‘यसअघि ०.५ प्रतिशत मासिक निर्माण प्रगति हुन्थ्यो, अहिले ३.०४ प्रतिशत प्रगति हुने गरेको छ,’ अधिकारीले भनिन्, ‘समग्रमा अहिले निर्माण प्रगति ४० प्रतिशत छ ।’ यस खण्डको कुल दूरी ३८.८६ किमि छ । जसमा ११ किमि चार लेन सडकमै पहिलो तहको कालोपत्र भएको छ । विशालटार, मझिमटार क्षेत्रमा ६ किमि पुरानो कालोपत्र सडक भत्काएर नयाँ गर्ने तयारी भइरहेको छ ।

‘निर्माण सामग्री अभाव कायमै छ, मलेखुको लामाबगरबाट निर्माण सामग्री निकाल्ने गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भए पनि त्यहाँका स्थानीयले विरोध गर्दा निकाल्न सकिएको छैन,’ अधिकारीले भनिन्, ‘नुवाकोट र चितवनको जुगेडीबाट ल्याएर काम गरिराखिएको छ, लामाबगरकै निर्माण सामग्री निकाल्न पाए काम छिटो हुने थियो ।’

स्थानीयको विरोधले निर्माण सामग्री अभाव हुँदा मलेखुमा राखिएको क्रसर प्लान्ट पनि प्रयोगमा आउन सकेको छैन । यही खण्डमा १ सय ९ वटा विद्युत्का पोल पनि हटाउन बाँकी छ । ‘फिस्लिङदेखि चुम्लिङटार खण्डको मात्र विद्युत्का पोल हटाइएको छ,’ अधिकारीले भनिन्, ‘माघ र फागुनमा पोल सार्ने काम नै भएन ।’ शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यो खण्डको ठेक्का पाएको छ । १५ पुस २०७९ मा भएको ठेक्का सम्झौताअनुसार २०८२ पुसभित्र काम सक्नुपर्ने हो तर नसकिएपछि निर्माण व्यवसायीको मागअनुसार १५ असार २०८३ सम्म म्याद थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल विद्युत् प्राधिकरणले २ सय मेगावाट विद्युत् खरिद र ५ सय मेगावाट बिक्री गर्न प्रस्ताव माग गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै २०२७ देखि २०२८ सम्म जनवरी र मे महिनामा विद्युत् आयात र २०२६ देखि २०३० सम्म जुन र नोभेम्बरमा निर्यात गर्न प्रस्ताव मागेको हो । बिक्रीतर्फ प्रतियुनिट बिजुलीको दर न्यूनतम ५.४५ भारु हुनुपर्ने ...
— यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय ...
— कांग्रेसको सुरक्षित क्षेत्रका रुपमा रहेको पूर्वी नवलपरासी क्षेत्र नम्बर–१, मा यसपटक प्रतिस्पर्धा रोचक बनेको छ । कांग्रेस नेता शशांक कोइरालाले लगातार विजय हाासिल गर्दै आएको क्षेत्रमा यसपटक एमाले र रास्वपा पनि कडा प्रतिस्पर्धामा छन् । एमाले र रास्वपा कांग्रेसको विजय यात्रामा ‘ब्रेक’ लाउने कोसिसमा छन् । यसअघि चार पटकसम्म कोइरालाले यही क्षेत्रबाट निर्वाचन जितेका ...
— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो ...
— धादिङको त्रिपुरासुन्दरी–३ मूलपानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । शहिद लखन–८ वुंकोट घर भएकी १२ वर्षीया बालिका दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । शहिद लखन–८ वुंकोट घर भएकी १३ वर्षीया बालिका दिक्षा घर्ती मगर र भिमसेन थापा–६ का २४ विरेन्द्र थापा मगर घाइते ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम