— एमाले महासचिव शंकर पोखरेलले झापा-५ एमालेका लागि सुरक्षित रहेको दाबी गरेका छन् । कान्तिपुरसँगको विस्तृत कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले यसपटकको प्रतिनिधसभा सदस्य निर्वाचन नै झापा-५ मा केन्द्रित भए जस्तो देखिएको पनि बताएका छन् । यद्यपि, राजनीतिक दलहरू एक्लाएक्लै चुनाव लडेको अवस्थामा अघिल्ला निर्वाचनभन्दा यसपटक एमाले सुरक्षित रहेको पनि उनको भनाइ छ । कुनै शक्ति केन्द्रले एमालेविरूद्धमा ‘पोलराइज’ गर्दियो भने फरक अवस्था हुनसक्ला नभए बाहिर हल्ला भएजस्तो झापा-५ मा एमालेलाई कुनै समस्या नभएको उनले बताए । उनले भने, 'अहिलसम्म एमालेका लागि झापा-५ सुरक्षित नै देखिन्छ ।'
कुराकानी कै क्रममा महासचिव पोखरेलले २३ र २४ भदौको जेन-जी विद्रोहप्रति पनि एमालेको फरक दृष्टिकोण रहेको बताएका छन् । उनले एकथरिले यसलाई जायज हो भनेर विश्लेषण गरिराखे पनि एमालेले फरक ढंगले विश्लेषण गरिरहेको बताएका छन् । उनले भने, 'आन्दोलनमा संलग्न ती युवाहरूको भावनाको सम्मान गर्नुपर्छ । तर, त्यसमा भएका षड्यन्त्रहरू र विध्वंसहरूको विरोध गर्नुपर्छ ।'