: लागुऔषध मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ स्थित कारागारमा सजाय भुक्तान गरिरहेका मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको मृत्यु भएको कारागार प्रशासक गौरव ढुंगेलले बताए।
उनका अनुसार अचानक श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि तामाङलाई उपचारका लागि मंगलबार राति १० बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार राति १०ः४६ बजेतिर मृत्यु भएको जानकारी ढुंगेलले दिए।
स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेका तामाङले यस अघिदेखि नै नियमित औषधि सेवन गरिरहेको कारागारले जनाएको छ। लागुऔषध मुद्दाका कैदी रहेका तामाङलाई जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेका उनको अचानक मृत्यु भएको हो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदै गर्दा कैदीको मृत्यु भएको ढुंगेलले बताए।
अदालतको आदेशपछि तामाङलाई २०८१ असोज १६ गते कारागार चलान गरिएको थियो। त्यसपछि मुद्दाको फैसला हुँदा उनी दोषी ठहर भएका हुन्। सजाय भुक्तान २०८३ साल माघ २७ गते सकिने भए पनि तामाङको त्यसअघि नै मृत्यु भएको हो। कारागार प्रशासक ढुंगेलले मृत्युको जानकारी पाउनसाथ सम्पर्कमा आफन्त र परिवारका सदस्यलाई शव जिम्मा लगाउने तयारी गरिएको बताए। उनका अनुसार तामाङलाई थप उपचारका लागि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको थियो।
मोरङ कारागारमा एक हजार एक सय ७५ जना कैदीबन्दी छन्। कैदीबन्दीमध्ये एक सय दुई जना महिला रहेको ढुंगेलले बताए।