: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’
थोमसन र अर्की एक गोताखोर लेक मेन्डोटा (ताल) को गहिराइमा अन्वेषण गरिरहेका थिए । जब उनका साथीले हावाको सिलिन्डर सकिन लागेको संकेत दिइन्, त्यही बेला थोमसनले तल हेर्दा आफू एउटा डुबेको काठको डुंगामाथि रहेको देखिन् । रोजब्रफका अनुसार उनीहरूले सुरुमा त्यो डुंगा अत्यन्त भाग्यशाली भए ३०० वर्ष पुरानो होला भन्ने सोचेका थिए । तर परीक्षणपछि थाहा भयो–त्यो त १,२०० वर्ष पुरानो रहेछ । ‘सबै जना छक्क परे’, उनले भनिन् ।
तर आश्चर्य यतिमै सीमित रहेन । सन् २०२२ मा तालबाट निकालिएको अर्को डुंगा ३,००० वर्ष पुरानो पाइयो । त्यसपछि हालसम्म जम्मा १६ वटा प्रागैतिहासिक डुंगाहरू भेटिएका छन्, जसमा सबैभन्दा पुरानो ५,२०० वर्ष पुरानो र सबैभन्दा नयाँ ७०० वर्ष पुरानो रहेको रेडियोकार्बन परीक्षणले देखाएको छ । यसको अर्थ, पहिलो युरोपेलीहरू अमेरिकामा आइपुग्नुभन्दा ४,००० वर्षअघि र मिस्रमा पिरामिड बन्नुभन्दा ४०० वर्षअघि नै यहाँ आदिवासी समुदाय बसोबास गरिरहेका थिए ।
बिल क्वाकेनबश, जो हो–चङ्क राष्ट्रका आदिवासी ऐतिहासिक संरक्षण अधिकारी हुन्, पहिलो डुंगा बाहिर निकाल्दा उपस्थित थिए । उनका अनुसार यी डुंगाहरूले प्रारम्भिक आदिवासीहरूले यस भू–भागमा कसरी आवागमन गर्थे भन्ने बुझ्न मद्दत गरेको छ ।
हो–चङ्क राष्ट्रका पुर्खाहरूको भूमि मध्य विस्कन्सिन र उत्तरी इलिनोइससम्म फैलिएको थियो ।
पुरातत्वविद् र स्थानीय आदिवासी समुदायहरू अब विश्वास गर्छन् कि हो–चङ्क आउनुभन्दा धेरै अघिदेखि ताल वरिपरि बस्ती बसिसकेको थियो । यी बलिया काठका डुंगाहरू माछा मार्न र व्यापार गर्न प्रयोग हुन्थे, र सम्भवतः अन्य समुदायले प्रयोग गर्न छोडेर गएका थिए । रोजब्रफले ती डुंगाहरूलाई प्राचीन ‘ई–बाइक स्टेशन’ सँग तुलना गर्छिन् ।
१८औं शताब्दीको अन्त्यतिर श्वेत बसोबास सुरु भयो, र १८१२ को युद्धपछि अमेरिकाले सन्धि र जबरजस्ती हटाउने प्रक्रिया मार्फत १८२०–१८६० को बीचमा धेरै हो–चङ्कलाई विस्थापित गर्यो । आज हो–चङ्क समुदाय दुई क्षेत्रमा विभाजित छन् । एउटा समूहले नेब्रास्कामा आरक्षण पायो, जसलाई Winnebago Tribe of Nebraska भनिन्छ। अर्को समूह विस्कन्सिनमै बस्न पायो र उनीहरू हो–चङ्क नेशनकै नामले चिनिन्छन् ।
डुंगा निर्माणको सीप समयसँगै हराउँदै गएको थियो । तर यी पुराना डुंगाहरू फेला परेपछि समुदायले त्यो परम्परा पुनर्जीवित गर्न थालेका छन् । सन् २०२२ देखि प्रत्येक जुन महिनामा ‘Ho–Chunk Nation Dugout Canoe Journey’ नामक वार्षिक यात्रा सुरु गरिएको छ, जुन अब सर्वसाधारणका लागि पनि खुला छ ।
नेब्रास्काबाट आउने हो–चङ्क सदस्य सनसाइन थोमस–बेयर भन्छिन् कि यी यात्राले आफ्नो पुख्र्यौली भूमिसँग पुनः सम्बन्ध जोड्ने अवसर दिएको छ । ‘उनीहरूको अनुहारमा आफ्नै भूमिसँगको सम्बन्ध देख्न सकिन्छ’, उनले भनिन् । ‘मलाई लाग्छ, उनीहरू अन्ततः घर फर्किएका हुन् ।’ यी प्राचीन डुंगाहरू सन् २०२७ मा खुल्ने नयाँ विस्कन्सिन इतिहास केन्द्रमा सार्वजनिक रूपमा प्रदर्शन गरिनेछ ।
ताल वरिपरिका क्षेत्रमा आज पनि करिब ४,००० ‘इफिजी माउन्ड’ (जनावर आकारका थुप्रा) बाँकी छन्, जसलाई धार्मिक, सामूहिक र समाधिस्थलका रूपमा प्रयोग गरिन्थ्यो । म्याडिसनमा मात्र करिब २०० यस्ता थुप्रा छन् । पर्यटकहरूले युनिभर्सिटी या विस्कोन्सिन–म्याडिसनद्वारा सञ्चालन गरिने प्रथम राष्ट्रका सांस्कृतिक भू–दृश्य पर्यटन (१ मार्च–३० नोभेम्बर) मा सहभागी हुन सक्छन्, जसले १२,००० वर्षभन्दा बढी मानव इतिहास प्रस्तुत गर्छ ।
विद्यार्थी मार्गदर्शक केन फनमेकर भन्छन्, ‘पहिले म म्याडिसनलाई पश्चिमी सहरका रूपमा हेर्थें, तर अहिले यसलाई हो–चङ्क भूमिको रूपमा पनि देख्छु, र यो इतिहास अरूसँग बाँडिरहेको छु ।’ स्व–निर्देशित भ्रमण चाहनेहरूका लागि विंग्रा ताल वरिपरि ट्रेल लूप छ, जहाँ इफिजी माउन्डहरू अवस्थित छन् । साथै, यूडब्ल्यू–म्याडिसनको ‘Mapping Teejop’ परियोजनाले पनि क्षेत्रको स्व–भ्रमण सुविधा दिन्छ ।Mapping TeejopMapping TeejopMapping TeejopMapping Teejop
यसरी, म्याडिसनको तालबाट निस्कँदै गरेका यी हजारौं वर्ष पुराना डुंगाहरूले अमेरिकाका आदिवासीहरूको इतिहास अझै पनि जीवित र पुनः खोजिँदै रहेको सन्देश दिन्छन् । ‘हामीसँग अझै पनि हाम्रो संस्कृतिका अंशहरू छन्’, क्वाकेनबश भन्छन्, ‘र हामी हराएका कुरा पुनः प्राप्त गर्न आतुर छौं ।’