मुख्य समाचार
सात दिनपछि हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सम्पूर्ण सुरक्षा तयारी पूरा
सात दिनपछि हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सम्पूर्ण सुरक्षा तयारी पूरा

: सात दिनपछि हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जनाएको छ। चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी फिल्डमा परिचालन भइसकेका छन्। गाउँदेखि सहरसम्म हरेक स्थानमा सुरक्षा निगरानी कडा पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू परिचालनमा छन्। खुला सीमा क्षेत्र र तराईका जिल्लामा विशेष निगरानी राखिएको छ।



निर्वाचन सुरक्षा अवस्थाको जानकारी लिन अशोकराज सिग्देलले पूर्वी पृतना (सुनसरी) र मध्य पृतना (बर्दिबास)को निरीक्षण गरेका छन्। उनले सातै प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। त्यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजी तथा डीआईजीहरू पनि विभिन्न प्रदेश र जिल्लामा सुरक्षा अनुगमनका लागि खटिएका छन्। गुप्तचर निकायले आन्तरिक निगरानी बढाएको जनाएको छ।


गृहमन्त्री ओमप्रकाश अर्यालले दैनिक रूपमा गृह मन्त्रालयमा आन्तरिक बैठक राखेर देशभरको सुरक्षा अवस्थाबारे जानकारी लिने गरेका छन्। उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बुधबारको बैठकमा गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल गरेका थिए। निर्वाचन नजिकिँदै गर्दा देखिन सक्ने सम्भावित चुनौतीप्रति सजग रहन र तयारी अवस्थामा बस्न उनले निर्देशन दिएका छन्।



गृहमन्त्री अर्यालले देशको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताउँदै निर्वाचन बिथोल्न सक्ने समूहप्रति विशेष निगरानी राख्न निर्देशन दिएका छन्। उनले सुरक्षाकर्मीलाई आवश्यक सञ्चार सामग्री, निर्वाचन सामग्री तथा अन्य सुरक्षा उपकरण उपलब्ध गराइएको जानकारी दिए। सुरक्षा ब्रिफिङका क्रममा अहिलेसम्म ठूलो सुरक्षा चुनौती नदेखिएको बताइएको छ।

निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको सरकारको दाबी छ। मतदानका दिन हुन सक्ने घटना वा हिंसा भड्किन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय सजग अवस्थामा छन्। यसका लागि नेपाली सेनाले देशभर ७२५ स्थानमा बम डिस्पोजल टोली खटाउने, स्ट्यान्डबाइ हेलिकोप्टर तयारी अवस्थामा राख्ने तथा मतदान सामग्री ढुवानीको जिम्मेवारी लिएको छ। सेनाले हालसम्म १३ स्थानमा शंकास्पद वस्तु निष्क्रिय पारिसकेको जनाएको छ।

सरकारका अनुसार हालको प्रमुख चुनौती सामाजिक सञ्जालमार्फत फैलने अफवाह रहेको छ। ‘मिसइन्फरमेसन’ र ‘डिसइन्फरमेसन’ जस्ता गतिविधि मौन अवधिको पूर्वसन्ध्यामा अझ बढ्न सक्ने अनुमान गरिएको छ। गृह मन्त्रालय स्रोतका अनुसार हाल ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको छ। खटिएका सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन नसके ३० मिनेटभित्र थप सुरक्षा टोली पुग्ने व्यवस्था गरिएको छ। त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले छुट्टाछुट्टै टोली तयारी अवस्थामा राखेका छन्। आवश्यक परे थप ९० मिनेटभित्र अर्को टोली पनि परिचालन गरिने व्यवस्था छ।

अघिल्ला निर्वाचनमा शंकास्पद रूपमा धेरै मत खसेका स्थानमा विशेष निगरानी गरिने र त्यस्ता स्थानमा यसअघि खटिएका कर्मचारीलाई पुन: नखटाउने तयारी गरिएको छ। कर्मचारीबाट गडबडी भए कारबाही गरिने चेतावनी पनि दिइएको छ। सम्भावित झडप रोक्न प्रत्येक उम्मेदवारका एक जना प्रतिनिधिलाई जिल्ला सुरक्षा समितिसँग प्रत्यक्ष समन्वयमा राखिने व्यवस्था गरिएको छ। फरक दलका उम्मेदवारहरूबीच अनावश्यक भेटघाट नहोस् भन्ने उद्देश्यले घरदैलो कार्यक्रमका रुटसमेत समन्वय गरी तय गरिएको छ।

राष्ट्रिय अनुसन्धान विभागका एक सुरक्षा अधिकृतका अनुसार निर्वाचन बहिष्कार घोषणा गरेका समूहको गतिविधिमाथि विशेष निगरानी बढाइएको छ। निर्वाचनको अघिल्लो दिन तराई क्षेत्रमा होली पर्व परेकाले सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै थप सतर्कता अपनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश विभाजन गर्न खोज्नेहरु अब किनारा लाग्ने बताएका छन् । जनकपुर मन्दिर परिक्रमा गर्ने क्रममा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले देश र मधेस विभाजन गर्न खोज्ने राजनीतिको अन्त्य गर्ने दावी गरे । सभापति लामिछानेले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो गरी उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन ...
: सर्वोच्च अदालतले बालयौन दुराचार (जबरजस्ती करणी) सम्बन्धी मुद्दामा पीडक नाबालक भए पनि पीडितलाई क्षतिपूर्ति अनिवार्य रूपमा दिलाउनुपर्ने फैसला सुनाएको छ। उमेरका आधारमा आपराधिक सजायमा केही छुट हुन सक्ने भए पनि क्षतिपूर्ति दायित्वबाट उन्मुक्ति दिन नमिल्ने अदालतले स्पष्ट गरेको हो। न्यायाधीश सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले तल्लो अदालतका फैसला उल्ट्याउँदै पीडित बालिकालाई ५० ...
: नुवाकोटको मध्यपहाडी सडकमार्ग अन्र्तगत थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि २८ किलोमिटर पूर्वमा रहेको उक्त सडकमार्ग अन्तर्गत नुवाकोटको लिखु गाउंपालिका– ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६६६५ नम्बरको टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा ...
: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक भैंसेडाँडामा आइतबार राति भएको बस दुर्घटनाले १९ जनाको ज्यान लिएपछि सरकार फेरि सक्रिय देखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना लगत्तै सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ र टोली घटनास्थल पुगेर अध्ययन सुरु गरेको छ। तर ...
काठमाडौंः काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूका तर्फबाट साझा प्रतिबद्धता ‘विकासको मार्गचित्र भिजन १०’ आज सार्वजनिक हुँदैछ । दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका ...