: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा महोत्तरीका दुई निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारहरुलाई मनोबल बढाएका छन्। बुधबार दिउँसो उपसभापति महोत्तरीको क्षेत्र नं. ३ र ४ मा पुगि आममतदाता र उम्मेदवारहरुको मनोबल बढाएका हुन् ।
शर्माले पार्टीका तर्फबाट उम्मेदवार रहेका क्षेत्र नं. ३ का बजरंग नेपाली र क्षेत्र नं. ४ का उम्मेदवार महेन्द्र रायको चुनावी भेलालाई समेत सम्बोधन गरेका थिए । जलेश्वरमा आयोजित कार्यक्रममा शर्माले पार्टीको नेतृत्व पुस्तान्तरण भईसकेको अवस्थामा अब कांग्रेस विकास, सुशासन अनि आर्थिक पाटोको विषयमा अगाडि बढने धारणा राखेका छन् ।
जेनजी आन्दोलनपछि पार्टी सञ्चालनको जिम्मेवारी युवा नेताको काँधमा रहेकाले अब पार्टीले निश्चित रुपमा जेनजी युवाहरुमा माग सम्बोधन गराउनका लागि तत्परता देखाउने शर्माले बताएका छन् । त्यस्तै महोत्तरी निर्वाचन क्षेत्र नं. ४ को सम्सी बजारमा उनले नेपालमा उत्पन्न हुने हरेक परिस्थितिलाई सही दिशा दिनका लागि नेपाली काँग्रेसले सक्षम भुमिका निर्वाह गरेको जनाएको छ ।
उपसभापति शर्माले आसन्न निर्वाचन फागुन २१ गते निर्वाचनमा महोत्तरीका हरेक उम्मेदवारलाई अमूल्य मत दिई विजयी बनाउनका लागि आममतदातामा अपील गरेका छन् । शर्माले जलेश्वरस्थित शहिदको शालिक र सम्सी वजारमा रहेको शहिद शिवचन्द्र मिश्रको शालिकमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।