मुख्य समाचार
बालेनको लहरले हामीलाई पनि असर गर्‍यो
बालेनको लहरले हामीलाई पनि असर गर्‍यो

— रास्वपाको चुनावी लहरको सबैभन्दा ठूलो प्रभाव मधेश प्रदेशमा देखिएको छ । किनकि मधेशमा रास्वपा बलियो देखिएसँगै त्यसको ठूलो असर मधेशकेन्द्रित दलहरूमा परेको छ । यो निर्वाचनसँगै मधेशका मुद्दा उठाएर २०४८ देखि उदाएका मधेशकेन्द्रित राजनीतिक दलहरूको उपस्थिति खुम्चिएको मात्रै छैन, उनीहरू अस्तित्वकै संकट भोग्नुपर्ने अवस्थामा पुगेका छन् । २०७९ को निर्वाचनमा मधेशमा बलियो शक्ति बनेर उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी पनि यो चुनावी तुफानमा किनाराकृत भएको छ । यही पृष्ठभूमिमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग सप्तरीका कान्तिपुरकर्मी विद्यानन्द रामले गरेको कुराकानी :

यो निर्वाचनमा तपाईं र तपाईंको पार्टीले कतै पनि जित्ने स्थिति देखिँदैन । के कारण लाग्छ तपाईंलाई ?

यसलाई समग्रतामा हेर्दा हामीले बालेन (बालेन्द्र शाह) लाई नै कारण मान्नुपर्छ । बालेनकै कारणले हामीलगायत अन्य दलहरूले खासै राम्रो गर्न सकेनौँ ।

०४८ सालदेखि सबै संसदमा मधेशका मुद्दामा राजनीति गर्दै आएका दलहरूको उपस्थिति हुँदै आएको थियो । पहिलो पटक मधेशले आफ्नो मुद्दा बोक्ने दललाई पठाएन नि । किन होला ?

म यसमा अलिकति पृथक मत राख्छु । अहिले जसरी मधेशबाट एकदम ‘क्लिन स्वीप’ भएको छ, त्यसको प्रमुख कारण मधेशको एजेन्डा नै हो जस्तो लाग्छ । म त्यसमा २–३ वटा बुँदा उल्लेख गर्छु ।

हामीले २, ४ वा १० वटा सिट जितेर पनि कुनै मधेशीलाई प्रधानमन्त्री बनाउन सक्ने अवस्था थिएन । मधेशीहरूको एउटा ठूलो माग हो—नेपालमा अहिलेसम्म पूरा नभएको—एउटा मधेशीलाई प्रधानमन्त्री बनाउने । त्यो बालेनको कारणले पूरा हुँदैछ । रास्वपाको माध्यमबाट त्यो पूरा हुँदैछ ।

दोस्रो कुरा, बालेनले जनकपुरमा गरेको ऐतिहासिक सम्बोधनमा संघीयतालाई अझ बलियो बनाउनुपर्छ भनेका छन् । र, हामी काठमाडौं अधिकार माग्नका लागि होइन, पशुपति दर्शनका लागि मात्रै जाने हो भनेका छन् । योभन्दा ठूलो एजेन्डा मधेशका लागि अरू केही हुन सक्दैन । भलै म त्यो पार्टीमा आबद्ध छैन । तर सही रूपमा विश्लेषण गर्दा त्यो संघीयताको उत्कर्ष हो । उहाँहरूले त्यो कुरा पूरा गर्नुपर्छ । संघीयतालाई यति सशक्त बनाउनुपर्छ कि आफ्नै सेना, प्रहरी र आफ्नै कर्मचारी व्यवस्था होस् । हामी काठमाडौं घुम्नका लागि मात्रै जानुपरोस्, कुनै कामका लागि जान नपरोस् ।

तेस्रो कुरा, हामीले १० लाख रोजगारीको कुरा उठाएका थियौँ । उहाँहरूले एक कदम अगाडि बढेर १२ लाख रोजगारी दिने भन्नुभएको छ । यी तीनै मुद्दा मधेशीहरूलाई चाहिएको कुरा हो । रास्वपा र खासगरी बालेनजीको माध्यमबाट उठेकाले मधेशी जनताले त्यसलाई समर्थन गरेका हुन् । त्यसैले म मधेशको एजेन्डा हराएको वा भागेको रूपमा लिँदिनँ, केवल फरक पार्टीले उठाएको भन्ने ठान्छु ।

समग्र निर्वाचन परिणामलाई कुन रूपमा लिनु भएको छ ?

हामीले यसलाई सकारात्मक रूपमा नै लिएका छौँ । भलै हाम्रो पार्टीले नजितेको होला । तर देशका लागि कम्तिमा झण्डै दुईतिहाइ बहुमत पाउने अवस्था देखिन्छ । त्यसैले अब काम नगर्ने बहानाबाजीको अन्त्य हुने बेला आयो । जनताले जे परिवर्तन चाहेका छन्, त्यो कुनै ‘एक्सक्युज’ बिना नै पूरा हुनुपर्छ । हामी त्यस चरणमा प्रवेश गर्दैछौँ । यसले व्यक्तिगत रूपमा हामीलाई पीडा होला, हाम्रो पार्टीलाई पीडा होला । तर त्यसलाई बिर्सिएर देशलाई निकासको दिशामा लैजान्छ भन्ने हाम्रो विश्वास छ ।

मधेशको छोरा बालेन शाह प्रधानमन्त्री हुँदैछन् । कसरी हेर्नु हुन्छ ?

म यसलाई एकदम सकारात्मक रूपमा लिन्छु । यसले मधेशको एउटा ठूलो माग सम्बोधन गर्न गइरहेको छ, जुन हामी मधेशकेन्द्रित दलहरूले पूरा गर्न सकेनौँ । त्यसैले हामी खुसी नै छौँ ।

जनताले तपाईंहरूलाई अनुमोदन गरेनन् । के मधेशका मुद्दाहरू पूरा भएका हुन् ? वा अब त्यही विषय राजनीतिको मुद्दा बनाउनु हुँदैन भन्ने सन्देश मतदाताले दिएका हुन् ?

हामीलाई भन्दा पनि हाम्रो पार्टीलाई अनुमोदन नगरेका हुन सक्छन् । तर मधेशी जनताले मधेशकै एजेन्डालाई समर्थन गरेका हुन् । पहिलो—मधेशीलाई प्रधानमन्त्री बनाउने । दोस्रो—संघीयतालाई यति मजबुत बनाउने कि अधिकारका लागि कसैलाई पनि काठमाडौं जानु नपरोस् । तेस्रो—१२ लाख रोजगारी । यी सबै मधेशकै एजेन्डा हुन् । त्यसैले मधेशका एजेन्डा हराएको बिल्कुलै होइन । केवल जिम्मेवारी फरक पार्टीलाई दिइएको हो ।जतिबेलासम्म जनताको माग पूरा हुन्छ—मधेशी र सिमान्तकृत वर्गका जनताको माग पूरा हुन्छ—हामीले दुःख मान्नुपर्दैन ।मधेशका मुद्दा राजनीतिको विषय बनाउनु हुँदैन भन्ने बुझाइ गलत हो । अहिले नै भन्नु, बालेन रास्वपामा प्रवेश नगरेको भए, बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने लहर नउठेको भए, बालेनले संघीयतालाई मजबुत बनाउँछु नभनेको भए यस्तो परिणाम आउँदैनथ्यो । रास्वपा त झण्डै लोप भइसकेको थियो । बालेन त्यहाँ जानु, बालेन प्रधानमन्त्री बन्छ भन्दै भोट हाल्न लहर पैदा हुनु—यसले देखाउँछ कि मधेशी एजेन्डा अझै जीवित छन् । जसले ती एजेन्डा पूरा गर्न सक्छ, जनताले त्यसैलाई समर्थन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...