: प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सिट नजितेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राजीनामा दिने मनस्थितिमा पुगेका छन्। पार्टीले हार व्यवहोरेपछि थापाले निकटवर्तीसँग कांग्रेस सभापति छाड्नेबारे घनीभूत छलफल गरेका छन्।
उनले पार्टी सभापतिबाट राजीनामा दिने आफ्नो मनस्थिति रहेको निकटवर्तीहरूलाई भनेका छन्। यसै क्रममा काठमाडौंको एक होटलमा उपसभापति विश्वप्रकाश शर्मासँगको बैठकमा उनले राजीनामा दिने मनस्थिति सुनाएका हुन्।
'कांग्रेसले अपेक्षित नतिजा नल्याएपछि सभापतिज्युले उपसभापतिजीसँग राजीनामा दिने विषयमा छलफल गर्नुभएको छ। तर, उपसभापतिले राजीनामा नदिन सुझाव दिनुभएको छ,' थापा निकट एक नेताले अन्नपूर्णसँग भने।
उपसभापति शर्माले गगन थापाको विकल्प 'गगन थापा' नै रहेको भन्दै राजीनामा नदिन सुझाव दिएका हुन्। विशेष परिस्थितिमा विशेष महाधिवेशन भएको र केही समयपछि नियमित महाधिवेशन पनि गर्ने भन्दै उपसभापतिले राजीनामा नदिन आग्रह गरेको स्रोतको भनाइ छ।
केही गरी सभापति थापाले राजीनामा दिए पनि उपसभापति शर्माले स्वीकृत नगर्ने ती स्रोतले बताएको छ। 'उहाँ (सभापति)ले राजीनामा दिए पनि उपसभापतिजीले तत्काल स्वीकृति गर्ने मनसाय बनाउनुभएको छैन।'