— गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पश्चिम नवलपरासीमा प्रत्यक्षतर्फ १० हजार ४ सय ७७ मत बदर भएको छ । क्षेत्र नम्बर १ मा ८२ हजार १ सय ७ मतदान भएकामा ५ हजार १८ मत बदर भएको छ । क्षेत्र नम्बर २ मा ८८ हजार ९ सय १५ मत खसेकामा ५ हजार ४ सय ५९ मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांक छ ।
मतदानमा सहभागीमध्ये ६ दशमलव १२ प्रतिशत मत बदर भएको हो ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार बदर भएको धेरै मत एउटै मतपत्रमा दुईवटा चुनाव चिह्नमा छाप लगाएको , दुईवटा चिन्हको बीच भागमा छाप लगाएको, मतपत्र पट्याउन नजान्दा मसी लत्पतिएको जस्ता समस्या देखिएको छ ।
मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको भए पनि त्यो प्रभावकारी हुन नसक्दा बदर मत घट्न नसकेको हो ।