— संखुवासभा क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६ सय ३६ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन् । पराजित शेर्पाले १५ हजार मत ल्याएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा राईले ९ हजार ८५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचित भएपछि कार्कीले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्नुहुदै संखुवासभा जिल्लाको समग्र विकासका लागि निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लामा कुल १ लाख १९ हजार ६३० मतदातामध्ये ६२ हजार ९३७ मत खसेको थियो । तीमध्ये करिब ४ हजार मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवार कार्कीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।