मुख्य समाचार
मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कायमै
मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कायमै

। मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कम भएको छैन । मिसाइल तथा हवाई आक्रमण जारी रहँदा खाडी मुलुकहरूमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता यथावत छ ।

इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस लक्षित गरी मिसाइल आक्रमण गरिरहेकाले साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन र ओमान लगायत देशमा सुरक्षा जोखिम बढेको छ । यी देशमा साढे १७ लाखजति नेपाली कार्यरत रहेको सरकारको आधिकारिक तथ्यांक छ ।




परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे त्यहाँस्थित नेपाली दूतावास र नियोगहरूले निरन्तर निगरानी गरिरहेका छन् र मन्त्रालयलाई नियमित जानकारी पठाइरहेका छन् ।

यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो । २८ फेब्रअरीमा इरानले ड्रोन आक्रमण गर्दा त्यहाँ कार्यरत तीन जनाको मृत्यु भएको थियो । जसमा नेपाल, भारत र बंगलादेशका एक–एके जनाको मृत्यु भएको थियो । श्रेष्ठको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो ।




परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा इरानको आक्रमणमा परी केही नेपाली घाइते भएका छन् । घाइतेमध्ये धेरैजना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमै छन् ।

‘हाम्रा दूतावासहरूले त्यहाँको अवस्था नजिकबाट नियालिरहेका छन्, नेपालीलाई कुनै क्षति नहोस् भनेर आवश्यक परेका बेला सुरक्षा एडभाइजरी जारी गरिरहेका छौं,’ प्रवक्ता पौडेलले भने ।

मन्त्रालयका अनुसार मध्यपूर्व क्षेत्रमा रहेका नेपालीको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबारसम्म ५४ हजार ७ सय ८६ नेपालीले आफ्नो विवरण दर्ता गरिसकेका छन् । प्राप्त विवरणलाई प्राथमिकता साथ अध्ययन गरी आवश्यक सहयोगको प्रक्रिया अघि बढाइएका छ ।

परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार मध्यपूर्वका विभिन्न देशमा करिब १७ लाख २९ हजार नेपाली काम तथा अध्ययनका लागि रहेका छन् । कागजातविहीन अवस्थामा रहेका नेपालीको संख्या पनि उल्लेख्य रहेको अनुमान छ ।



तनाव बढ्दै गएपछि वैदेशिक रोजगार विभागले १७ फागुनदेखि लागु हुनेगरी साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जाने श्रमिकलाई प्रदान गरिने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिसकेको छ ।

त्यस्तै ती देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पनि रोकिएको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित परिस्थिति ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी एक्सन रुम’ स्थापना गरी २४ घण्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त संयन्त्र मार्फत दूतावासहरू, सम्बन्धित मन्त्रालय तथा नेपाली समुदायसँग समन्वय गरी आवश्यक सहयोग तथा उद्धारका तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विभिन्न विमानस्थलमा ट्रान्जिटमा परेका नेपालीको समस्या समाधानका लागि सम्बन्धित नियोगले समन्वय गरिरहेका छन् । कुवेतमा ट्रान्जिटमा रहेका करिब ५० नेपालीलाई नेपाली दूतावासले समुदायसँग मिलेर खानपान र बसोबासको व्यवस्था गरिरहेको मन्त्रालयले जनाएको छ ।

कतार र कुवेतको आकाश उडानका लागि बन्द भए पनि साउदी र ओमानतर्फ भने केही उडान पुन: सञ्चालनमा आएकाले इच्छुक यात्रुले त्यहाँबाट यात्रा गर्न सक्ने अवस्था छ । यूएईमा पनि सीमित उडान सञ्चालनमा आएका छन् ।

मन्त्रालयले मध्यपूर्वमा रहेका सबै नेपालीलाई संयमित र सचेत रहन, स्थानीय सरकार तथा नेपाली नियोगले जारी गरेका सूचना पालना गर्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ । साथै, संवेदनशील अवस्थामा फोटो, भिडियो वा अडियो सामग्री खिच्ने र सामाजिक सञ्जालमा आदान–प्रदान नगर्न पनि विशेष अनुरोध गरिएको छ ।

प्रवक्ता पौडेलले दूतावास तथा नियोगहरूबाट निरन्तर फलोअप भइरहेको र केही समस्या पर्नेबित्तिकै मन्त्रालयमा जानकारी हुने गरेको बताए ।

सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले समेत आवश्यकता अनुसार एडभाइजरी जारी गर्दै आएका छन् । दूतावासहरूले सम्बन्धित देशले जारी गरेको सूचना तथा सुरक्षा प्रोटोकल पालना गर्न, अनावश्यक बाहिर हिँडडुल नगर्न, फोटो तथा भिडियो नखिच्न अनुरोध गर्दै आएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायहरूबाट जारी गरिएको सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई तेस्रो पटक अनुरोध गरेको हो ।



कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक ट्राभल एजेन्सीसँग सम्पर्क गरिराख्न समेत अनुरोध गरेको हो ।

कुवेत सरकारले त्यहाँ रहेका भिजिट भिसावाहक सबैको भिसा एक महिनाका लागि थप गरेको, कुवेत बाहिर रहेका कुवेतको सिभिल आईडीवाहकका हकमा विगतको कम्पनीमा काम गर्नेहरूका लागि ६ महिना र घरेलु कामदारका हकमा ४ महिनाभन्दा बढी कुवेत बाहिर बस्दा सिभिल आईडी रद्द हुने व्यवस्था परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा ३ महिना थप गरेको दूतावासले जनाएको छ ।

थप अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको र यसबाहेक अन्य सबै भिसावाहकका हकमा भिसा अवधि समाप्त हुनुअघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिसा अवधि नवीकरण गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

कुवेतमा रहेका नेपालीलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली दूतावास नियमित खुला रहेको समेत दूतावासले जनाएको छ ।

यूएईमा ट्रान्जिट परेर अलपत्र यात्रुसमेत नेपाल फर्किन लागेका छन् । एयर अरेबिया र फ्लाई दुबईले अलपत्र यात्रुलाई नेपाल लगिरहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

यूएईले हालको परिस्थितिका कारण उडान बन्द वा ढिला भएका कारण समयमै यूएई छाड्न नसकेका यात्रुको ओभरस्टे जरिबाना माफी गर्ने निर्णय गरेको छ । फेब्रअरी २८ पछि लागेको ओभरस्टे जरिबाना नलाग्ने दूतावासले जनाएको छ ।

हालको परिस्थितिबारे प्रधानमन्त्री सुशीला कार्कीले यूएईका राष्ट्रपति र कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग टेलिफोन सम्वाद गरेकी थिइन् ।

यूएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको टेलिफोन सम्वादमा यस क्षेत्रको विकसित अवस्था र यूएईमा रहेका सबै बासिन्दाको सुरक्षा र सुरक्षाबारे कुराकानी भएको थियो ।

प्रधानमन्त्री कार्कीले नेपाली समुदाय सहित सबै बासिन्दाको सुरक्षा र कल्याण सुनिश्चित गर्न यूएईका अधिकारीहरूले गरेका उपायको प्रशंसा गरेकी थिइन् । राष्ट्रपति नाह्यानले चुनौतीपूर्ण समयमा नेपालको एकताको आह्वान र अभिव्यक्तिका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए ।

राष्ट्रपतिले १ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका एक नेपालीको दु:खद निधनमा समवेदना व्यक्त गर्दै र नेपाली नागरिकहरूको बफादारी, इमानदारी र समर्पणको कदर गरेका थिए ।

त्यस्तै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुरहमान बिन जासिम अल थानीसँगको टेलिफोन कुराकानीमा पश्चिम एसियामा विकसित वर्तमान अवस्था र कतारमा रहेका नेपालीहरूको सुरक्षा हित विषयमा छलफल भएको थियो ।

त्यस्तै परराष्ट्रमन्त्री बालानन्द शर्माले बहराइनमा परराष्ट्रमन्त्री डा. अब्दुल लतिफ बिन रशिद अल जायनीसँग समेत टेलिफोन सम्वाद गरेका थिए ।

त्यस्तै परराष्ट्र मन्त्रालयले १० वटै नियोगका अधिकारीहरूसँग भर्चुअल बैठक समेत आयोजना गरेको थियो । परराष्ट्र सचिव अमृतबहादुर राइले सबै नियोग प्रमुखलाई थप सक्रियता साथ समन्वयात्मक र प्रभावकारी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम