मुख्य समाचार
मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कायमै
मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कायमै

। मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कम भएको छैन । मिसाइल तथा हवाई आक्रमण जारी रहँदा खाडी मुलुकहरूमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता यथावत छ ।

इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस लक्षित गरी मिसाइल आक्रमण गरिरहेकाले साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन र ओमान लगायत देशमा सुरक्षा जोखिम बढेको छ । यी देशमा साढे १७ लाखजति नेपाली कार्यरत रहेको सरकारको आधिकारिक तथ्यांक छ ।




परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे त्यहाँस्थित नेपाली दूतावास र नियोगहरूले निरन्तर निगरानी गरिरहेका छन् र मन्त्रालयलाई नियमित जानकारी पठाइरहेका छन् ।

यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो । २८ फेब्रअरीमा इरानले ड्रोन आक्रमण गर्दा त्यहाँ कार्यरत तीन जनाको मृत्यु भएको थियो । जसमा नेपाल, भारत र बंगलादेशका एक–एके जनाको मृत्यु भएको थियो । श्रेष्ठको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो ।




परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा इरानको आक्रमणमा परी केही नेपाली घाइते भएका छन् । घाइतेमध्ये धेरैजना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमै छन् ।

‘हाम्रा दूतावासहरूले त्यहाँको अवस्था नजिकबाट नियालिरहेका छन्, नेपालीलाई कुनै क्षति नहोस् भनेर आवश्यक परेका बेला सुरक्षा एडभाइजरी जारी गरिरहेका छौं,’ प्रवक्ता पौडेलले भने ।

मन्त्रालयका अनुसार मध्यपूर्व क्षेत्रमा रहेका नेपालीको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबारसम्म ५४ हजार ७ सय ८६ नेपालीले आफ्नो विवरण दर्ता गरिसकेका छन् । प्राप्त विवरणलाई प्राथमिकता साथ अध्ययन गरी आवश्यक सहयोगको प्रक्रिया अघि बढाइएका छ ।

परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार मध्यपूर्वका विभिन्न देशमा करिब १७ लाख २९ हजार नेपाली काम तथा अध्ययनका लागि रहेका छन् । कागजातविहीन अवस्थामा रहेका नेपालीको संख्या पनि उल्लेख्य रहेको अनुमान छ ।



तनाव बढ्दै गएपछि वैदेशिक रोजगार विभागले १७ फागुनदेखि लागु हुनेगरी साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जाने श्रमिकलाई प्रदान गरिने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिसकेको छ ।

त्यस्तै ती देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पनि रोकिएको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित परिस्थिति ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी एक्सन रुम’ स्थापना गरी २४ घण्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त संयन्त्र मार्फत दूतावासहरू, सम्बन्धित मन्त्रालय तथा नेपाली समुदायसँग समन्वय गरी आवश्यक सहयोग तथा उद्धारका तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विभिन्न विमानस्थलमा ट्रान्जिटमा परेका नेपालीको समस्या समाधानका लागि सम्बन्धित नियोगले समन्वय गरिरहेका छन् । कुवेतमा ट्रान्जिटमा रहेका करिब ५० नेपालीलाई नेपाली दूतावासले समुदायसँग मिलेर खानपान र बसोबासको व्यवस्था गरिरहेको मन्त्रालयले जनाएको छ ।

कतार र कुवेतको आकाश उडानका लागि बन्द भए पनि साउदी र ओमानतर्फ भने केही उडान पुन: सञ्चालनमा आएकाले इच्छुक यात्रुले त्यहाँबाट यात्रा गर्न सक्ने अवस्था छ । यूएईमा पनि सीमित उडान सञ्चालनमा आएका छन् ।

मन्त्रालयले मध्यपूर्वमा रहेका सबै नेपालीलाई संयमित र सचेत रहन, स्थानीय सरकार तथा नेपाली नियोगले जारी गरेका सूचना पालना गर्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ । साथै, संवेदनशील अवस्थामा फोटो, भिडियो वा अडियो सामग्री खिच्ने र सामाजिक सञ्जालमा आदान–प्रदान नगर्न पनि विशेष अनुरोध गरिएको छ ।

प्रवक्ता पौडेलले दूतावास तथा नियोगहरूबाट निरन्तर फलोअप भइरहेको र केही समस्या पर्नेबित्तिकै मन्त्रालयमा जानकारी हुने गरेको बताए ।

सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले समेत आवश्यकता अनुसार एडभाइजरी जारी गर्दै आएका छन् । दूतावासहरूले सम्बन्धित देशले जारी गरेको सूचना तथा सुरक्षा प्रोटोकल पालना गर्न, अनावश्यक बाहिर हिँडडुल नगर्न, फोटो तथा भिडियो नखिच्न अनुरोध गर्दै आएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायहरूबाट जारी गरिएको सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई तेस्रो पटक अनुरोध गरेको हो ।



कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक ट्राभल एजेन्सीसँग सम्पर्क गरिराख्न समेत अनुरोध गरेको हो ।

कुवेत सरकारले त्यहाँ रहेका भिजिट भिसावाहक सबैको भिसा एक महिनाका लागि थप गरेको, कुवेत बाहिर रहेका कुवेतको सिभिल आईडीवाहकका हकमा विगतको कम्पनीमा काम गर्नेहरूका लागि ६ महिना र घरेलु कामदारका हकमा ४ महिनाभन्दा बढी कुवेत बाहिर बस्दा सिभिल आईडी रद्द हुने व्यवस्था परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा ३ महिना थप गरेको दूतावासले जनाएको छ ।

थप अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको र यसबाहेक अन्य सबै भिसावाहकका हकमा भिसा अवधि समाप्त हुनुअघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिसा अवधि नवीकरण गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

कुवेतमा रहेका नेपालीलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली दूतावास नियमित खुला रहेको समेत दूतावासले जनाएको छ ।

यूएईमा ट्रान्जिट परेर अलपत्र यात्रुसमेत नेपाल फर्किन लागेका छन् । एयर अरेबिया र फ्लाई दुबईले अलपत्र यात्रुलाई नेपाल लगिरहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

यूएईले हालको परिस्थितिका कारण उडान बन्द वा ढिला भएका कारण समयमै यूएई छाड्न नसकेका यात्रुको ओभरस्टे जरिबाना माफी गर्ने निर्णय गरेको छ । फेब्रअरी २८ पछि लागेको ओभरस्टे जरिबाना नलाग्ने दूतावासले जनाएको छ ।

हालको परिस्थितिबारे प्रधानमन्त्री सुशीला कार्कीले यूएईका राष्ट्रपति र कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग टेलिफोन सम्वाद गरेकी थिइन् ।

यूएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको टेलिफोन सम्वादमा यस क्षेत्रको विकसित अवस्था र यूएईमा रहेका सबै बासिन्दाको सुरक्षा र सुरक्षाबारे कुराकानी भएको थियो ।

प्रधानमन्त्री कार्कीले नेपाली समुदाय सहित सबै बासिन्दाको सुरक्षा र कल्याण सुनिश्चित गर्न यूएईका अधिकारीहरूले गरेका उपायको प्रशंसा गरेकी थिइन् । राष्ट्रपति नाह्यानले चुनौतीपूर्ण समयमा नेपालको एकताको आह्वान र अभिव्यक्तिका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए ।

राष्ट्रपतिले १ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका एक नेपालीको दु:खद निधनमा समवेदना व्यक्त गर्दै र नेपाली नागरिकहरूको बफादारी, इमानदारी र समर्पणको कदर गरेका थिए ।

त्यस्तै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुरहमान बिन जासिम अल थानीसँगको टेलिफोन कुराकानीमा पश्चिम एसियामा विकसित वर्तमान अवस्था र कतारमा रहेका नेपालीहरूको सुरक्षा हित विषयमा छलफल भएको थियो ।

त्यस्तै परराष्ट्रमन्त्री बालानन्द शर्माले बहराइनमा परराष्ट्रमन्त्री डा. अब्दुल लतिफ बिन रशिद अल जायनीसँग समेत टेलिफोन सम्वाद गरेका थिए ।

त्यस्तै परराष्ट्र मन्त्रालयले १० वटै नियोगका अधिकारीहरूसँग भर्चुअल बैठक समेत आयोजना गरेको थियो । परराष्ट्र सचिव अमृतबहादुर राइले सबै नियोग प्रमुखलाई थप सक्रियता साथ समन्वयात्मक र प्रभावकारी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...