। काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न पनि रास्वपाका नेतासँग आग्रह गरे ।
कुराकानीका क्रममा पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्यालले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे आफूलाई थाहा नभएको भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका थिए ।
जसको जवाफमा पाण्डेले भने, ‘उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन ।’
रास्वपाले जे बोल्छ त्यही गर्ने उनले दाबी गरे । ‘जे बोलिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ । अनि, पनि, कमा, फुल स्टप राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । यो चाहिने नचाहिने भन्ने छुट छैन ।’
उनले सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर मान्छेपिच्छे कुरा नगर्न उनले अनुरोध गरे ।