। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ।’
समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व भएको उल्लेख गर्दै उनी थप्छन्, ‘आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो । यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन ।’
नेपाली कांग्रेसलाई बचाउन सम्भव रहेको भन्दै उनले यसका निम्ति इच्छाशक्ति र साहस आवश्यक रहेको बताएका छन् ।