: मध्यपूर्वको आकाश यतिबेला बारुदको धुवाँले ढाकिएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको 'संयुक्त सैन्य कारबाही'ले विश्वविश्व मानचित्रमै ठूलो हलचल ल्याएको छ। पछिल्लो एक सातादेखि जारी यो भीषण युद्धले केवल दुई देशलाई मात्र होइन,सम्पूर्ण विश्वको अर्थतन्त्र,शान्ति र पर्यावरणलाई नै चुनौती दिएको छ। इरानको सत्ताको केन्द्र मानिने तेहरानका महत्वपूर्ण संरचनाहरू ध्वस्त भएका छन् भने मानवीय क्षतिको विवरणले विश्वलाई नै स्तब्ध बनाएको छ।
यो युद्धमा अहिलेसम्म १,३०० भन्दा बढी नागरिक र सैनिकको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघका लागि इरानी राजदूत अमिर सइद इरावानीले अमेरिका र इजरायलले जानाजानी नागरिक बस्ती र पूर्वाधारलाई निशाना बनाएको गम्भीर आरोप लगाएका छन् ।
संयुक्त राष्ट्र संघको एक ब्रिफिङमा बोल्दै राजदूत इरावानीले जारी द्वन्द्वका कारण इरानमा ठूलो मानवीय र भौतिक क्षति भएको विवरण सार्वजनिक गरेका हुन् । इरानी दाबी अनुसार हालसम्म ९ हजार ६ सय ६९ वटा नागरिक स्थलहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। जसमा झण्डै ८ हजार आवासीय घरहरू, व्यावसायिक केन्द्र तथा बजारहरू, विद्यालय तथा शैक्षिक संस्थाहरू, औषधि उत्पादन केन्द्र र स्वास्थ्य सुविधाहरू रहेका छन्। इरावानीले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रमा गरिएका यी हमलाहरूलाई 'भयानक अपराध' को संज्ञा दिएका छन् ।
यस युद्धको सबैभन्दा ठूलो र प्रभावकारी घटना इरानका सर्वोच्च नेता आयतुललाह अली खामेनीको मृत्युलाई मानिएको छ। इजरायली हवाई हमलामा खामेनीसहित सरकारका ४० भन्दा बढी उच्च अधिकारी र सैन्य कमाण्डरहरूको निधन भएपछि इरानमा राजनीतिक र सैन्य रिक्तता उत्पन्न भएको छ।
सर्वोच्च नेता आयतुललाह अली खामेनीको मृत्युको प्रतिशोधमा इरानले पनि अमेरिका र इजरायलका विभिन्न सैन्य अड्डा र दूतावासहरूमा शक्तिशाली जवाफी हमला गरिरहेको छ। दुवै पक्षबाट भइरहेका ड्रोन र क्षेप्यास्त्र प्रहारका कारण मध्यपूर्वका आकाशहरू यतिबेला धुवाँ र बारुदले भरिएका छन्,जसले गर्दा सर्वसाधारणमा चरम डर र त्रास फैलाएको छ।
युद्ध केवल सैन्य इलाकामा मात्र सीमित छैन। एकले अर्काको देशको कच्चा तेल भण्डार र औद्योगिक क्षेत्रलाई निशाना बनाउँदा इन्धन आपूर्तिमा ठूलो अवरोध आएको छ। इरानका ठूला तेल भण्डारहरू ध्वस्त हुँदा त्यहाँबाट निस्किएको विषाक्त धुवाँ र मार्च ८ मा भएको 'अम्लीय वर्षा' ले मानवीय स्वास्थ्यमा गम्भीर संकट निम्त्याएको छ। जस्ले गर्दा इरानका नागरिक मात्रै नभएर विश्वजतमै यस्ले प्रत्यक्ष रूपमा प्रभाव पार्ने देखिएको छ। यदि यो युद्ध तत्काल नरोकिएमा विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिने र विश्वले नै ठूलो आर्थिक मन्दीको सामना गर्नुपर्ने निश्चित छ।
सर्वोच्च नेताको मृत्युपछि नयाँ नेतृत्व
खामेनीको मृत्युपछि इरानको 'विज्ञ परिषद्' (Assembly of Experts)ले मुजतबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको सरकारी सञ्चारमाध्यमले सोमबार बिहान घोषणा गरेका छन्। उनलाई इरानको 'एसेम्ब्ली अफ एक्सपर्ट्स'(विज्ञहरूको सभा) ले चयन गरेको हो। ८८ सदस्यीय यो निकायमा निर्वाचित वरिष्ठ धर्मगुरुहरू हुन्छन्, जसको मुख्य जिम्मेवारी सर्वोच्च नेताको छनोट गर्नु हो। सन् १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयता यो सभाले दोस्रो पटक मात्र नयाँ नेता चयन गरेको हो। यसअघि तीन दशकभन्दा पहिले आयतोल्लाह रुहोल्लाह खोमेनीको मृत्युपछि अली खामेनीलाई यसैगरी हतारमा चयन गरिएको थियो। हालका लागि इरानको नेतृत्व र सैन्य कमाण्ड खामेनीका छोराको नेतृत्वमा रहेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको अर्को नेताको नियुक्तिमा आफ्नो 'संलग्नता हुनुपर्ने' बताउँदै खामेनीका छोराको चयन आफूलाई 'अस्वीकार्य' रहेको बताएका थिए । तर पनि इरानले खामेनीका छोरालाई नै नियुक्त गरेको छ। यस्तै इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका नवनियुक्त सर्वोच्च नेता मुजतबा खामेनीलाई पनि निशाना साँध्ने चेतावनी दिएका छन् ।
को हुन् मुजतबा खामेनी?
५६ वर्षीय मुजतबा अली खामेनीका माइला छोरा हुन्। उनी पर्दा पछाडिबाट निकै प्रभावशाली मानिन्छन् र इरानको सबैभन्दा शक्तिशाली सैन्य निकाय 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' (IRGC) र 'बासिज' अर्धसैनिक बलसँग उनको बलियो सम्बन्ध छ। मुजतबा उच्च तहका धर्मगुरु होइनन् र शासनसत्तामा उनको कुनै आधिकारिक पद पनि छैन। सन् २०१९ मा अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी अर्थ मन्त्रालयले उनलाई आफ्ना पिताका 'अस्थिर क्षेत्रीय महत्त्वाकांक्षा र दमनकारी आन्तरिक उद्देश्य' लाई अगाडि बढाउन IRGC-कुड्स फोर्स र बासिजका कमाण्डरहरूसँग मिलेर काम गरेको आरोप लगाएको थियो।
इरानले अहिलेसम्म युद्ध रोक्ने कुनै संकेत देखाएको छैन। बरु,आफ्ना सर्वोच्च नेताको मृत्युको बदला लिन इरानले 'कडा प्रतिशोध'को चेतावनी दिएको छ। इरानी सैन्य कमाण्डरहरूले अमेरिका र इजरायलका मध्यपूर्वमा रहेका सबै सैन्य अखडा र दूतावासहरू अब आफूहरूको वैध निसाना हुने बताएका छन्। इरानले आफ्ना 'प्रोक्सी' समूहहरू (हिजबुल्लाह, हुथी र हमास) लाई पनि पूर्ण रूपमा सक्रिय बनाएको छ,जसका कारण यो युद्ध क्षेत्रीय स्तरबाट फैलिएर अन्तर्राष्ट्रिय संकट बन्ने खतरा बढेको छ।
युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। इरानका ठूला तेल भण्डार र 'रिफाइनरी'हरूमा भएको बमबारीले इन्धन आपूर्ति ठप्प पारेको छ। यसको प्रत्यक्ष असर नेपाल जस्ता विकासोन्मुख देशहरूको भान्सादेखि यातायातसम्म पर्न थालेको छ। वातावरणीय दृष्टिले पनि स्थिति निकै खराब छ। मार्च ८ को बिहान तेहरानमा देखिएको 'अम्लीय वर्षा' (Acid Rain) ले मानिसहरूमा श्वासप्रश्वास र छालाको गम्भीर समस्या निम्त्याएको छ। इन्धन भण्डारबाट निस्किएको विषाक्त धुवाँले हावापानी मात्र नभइ कृषि र जैविक विविधतामा पनि अपूरणीय क्षति पुर्याएको छ।
इन्धन संकट टार्न रुससँग हात बढाउँदै ट्रम्प
युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल १ सय २० डलरसम्म पुगेपछि ट्रम्पले रणनीतिक कदम चाल्न सुरु गरेका छन् ।इन्धनको मूल्यवृद्धिले विश्वभर आर्थिक संकट निम्त्याउने जोखिम बढेसँगै ट्रम्पले रुस, इरान र भेनेजुएला जस्ता देशमाथि लगाइएका पुराना प्रतिबन्धहरू हटाउने संकेत गरेका हुन् । विशेष गरी, इरानसँगको युद्ध र हर्मुजको घाँटीमा देखिएको अवरोधका कारण तेल आपूर्ति ठप्प हुने अवस्था आएपछि ट्रम्पले रुसलाई विश्व बजारमा पुनः पहुँच दिन खोजेको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता भएको छ।
अमेरिकी प्रशासनले इन्धनको मूल्य नियन्त्रण गर्न रुसमाथिको प्रतिबन्ध खुकुलो पार्ने तयारी गरेको छ। गत साता मात्रै अमेरिकाले भारतलाई रुसी तेल किन्न छुट दिएको थियो, जबकि युद्धअघिसम्म वासिङ्टनले भारतलाई रुसी तेलमाथिको निर्भरता घटाउन दबाब दिँदै आएको थियो। युरोपेली युनियन भित्र पनि हंगेरी लगायतका देशले रुसमाथिको ऊर्जा प्रतिबन्ध तत्काल हटाउन माग गरिरहेका छन्।
रुसी राष्ट्रपति पुटिनले पनि युरोपको ऊर्जा संकट समाधान गर्न आफूहरू तेल र ग्यास आपूर्ति गर्न तयार रहेको संकेत दिएका छन् । विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार भएको रुसले मध्यपूर्वको यो संकटलाई आफ्नो बजार विस्तार गर्ने अवसरका रूपमा हेरेको छ। पुटिनले आफ्ना तेल कम्पनीहरूलाई ठूलो परिमाणमा निर्यातका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिइसकेका छन् । इरानले युद्ध जारी राख्ने सन्देश दिएसँगै ट्रम्पले इन्धनको वैश्विक अभाव पूर्ति गर्न रुस र भेनेजुएला जस्ता वैकल्पिक स्रोतहरूलाई खुला गरेर विश्व अर्थतन्त्रलाई राहत दिने रणनीति अपनाउने देखिन्छ।
युद्ध किन सुरु भयो ?
यो युद्ध एक्कासि सुरु भएको होइन। इरानले आफ्नो परमाणु कार्यक्रमलाई तीव्र पारेको र छिमेकी देशहरूमा रहेका विद्रोही समूहलाई सहयोग गरेको भन्दै अमेरिका र इजरायल रुष्ट थिए। इरानले आफ्ना छिमेकी मुलुकमाथि गरेको 'प्रतिशोधात्मक' हमलापछि अमेरिका र इजरायलले यसलाई आफ्नो सुरक्षामाथिको खतरा मान्दै ुसंयुक्त सैन्य कारबाहीुसुरु गरेका हुन्। जुन हमला विश्वकै लागि घातक हुने देखिएको छ ।
युद्ध रोक्ने उपाय
यो संकट समाधानका लागि विश्व समुदायले तत्काल पहल गर्न आवश्यक देखिएको छ।जस्का लागि कूटनीतिक संवाद,युद्धविरामको घोषणा,अन्तर्राष्ट्रिय दबाब दिन सके केहि हद सम्म यी देशबीचको यो भनायक आक्रमण रोकिन सक्छ । यस्का लागि संयुक्त राष्ट्र संघ र विश्वका शक्तिशाली राष्ट्रहरूले तत्काल मध्यस्थता गरी दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन आवश्यक छ। मानवीय र वातावरणीय क्षतिलाई थप बढ्न नदिन तत्काल युद्धविराम गर्नुको विकल्प छैन। खाडी मुलुक र युरोपेली युनियनले नागरिकको सुरक्षा र आर्थिक स्थिरताका लागि सैन्य होडबाजी रोक्न दबाब दिनुपर्ने देखिन्छ।
अन्त्यमा
यदि इरानले बदलाको भावना त्यागेर वार्तामा नआउने र अमेरिका-इजरायलले आफ्ना हमलाहरू नरोक्ने हो भने,यो द्वन्द्व 'तेस्रो विश्वयुद्ध'को प्रवेशद्वार बन्ने देखिन्छ । हतियारको होडबाजीले कुनै पनि पक्षको जित हुँदैन,हार केवल मानवता र विश्व अर्थतन्त्रको हुन्छ। यस्ले गर्दा यी तीन देशबीचको यो भयानक आक्रमणलाई रोक्न विश्वले आवश्यक कदम चाल्न जरुरी देखिन्छ
-एजेन्सीहरुको सहयोगमा