: अमेरिका–इरानमा भइरहेको युद्धको असर पेट्रोलियम पदार्थमा देखिन थालेको छ। गत फागुन १६ गतेबाट युद्ध सुरु भएयता करिब ६५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य बढेको छ। फेब्रुअरी २०२६ को अन्त्यतिर ७० अमेरिकी डलर प्रतिब्यारेलको आसपास रहेको ब्रेन्ट क्रुडको मूल्य मार्च महिनाको पहिलो सातामै ११० देखि १२० अमेरिकी डलर प्रतिब्यारेलसम्म पुगेको छ।
युद्धका कारण तेलको कच्चा पदार्थ उत्पादनमा कटौती र मूल्य बढ्नुका साथै इन्धन अभाव हुन थालेको छ। छिमेकी मुलुक भारतमा देखिएको समस्या र मागको तुलनामा आपूर्ति कम भएका कारण नेपालमा ग्यास र पेट्रोलियम पदार्थको अभाव देखिन थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
आयातित वस्तु भएकाले अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावबाट नेपाल पनि बच्न नसक्ने भएकाले विभागले इन्धन प्रयोगसम्बन्धी सावधानी अपनाउन सुरु गरेको विभागका निर्देशक एवं सूचना अधिकारी नरहरि तिवारी बताउँछन्। मध्यपूर्वको समस्याले भारत, पाकिस्तान र बंगलादेशमा पनि असर पारेको र नेपालले भारतबाट प्रशोधित तेल ल्याउने भएकाले भविष्यमा कोटा घट्न सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरिएको उनले जानकारी दिए। बजारमा करिब डेढ महिनादेखि रहँदै ग्यास अभाव झन् चुलिँदो क्रममा रहेको छ।
विश्व बजारमा ग्यास अभाव र मूल्यवृद्धिका कारण नेपालमा हुनसक्ने कालोबजारीलाई रोक्न विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्यांक मागेको छ। ‘भारतमा पनि थोरै संकट बढ्दै छ। यहाँ पनि अलिअलि ग्यासको अभावहरू देखिइराखेका छन्। आयल निगमले आपूर्ति भइरहेको छ, रोकिएको छैन भनेको छ। तर, डिमान्डको तुलनामा सप्लाई त्यति अपेक्षित भएजस्तो देखिँदैन। त्यो भएको हुनाले अलिअलि सचेतता पनि अपनाउनु पर्यो। अनुगमन पनि बढाउनु पर्यो,’ तिवारीले अन्नपूर्णसँग भने।
आयल निगमले कति आपूर्ति भएको छ, डिमान्ड कति छ, सप्लाई कति छ, त्यसको रेकर्डहरू राख्नुका साथै विभागलाई उपलब्ध गराउन भनिएको उनले थपे। ग्याससँगै सम्पूर्ण पेट्रोलियम पदार्थको तथ्यांक उपलब्ध गराउन भनिएको छ। ‘हामीले विवरण मागेका छौं। उद्योगको संख्या कति हो, उत्पादन क्षमता कति हो, हामीलाई चाहिने कति हो, आपूर्ति कति भएको छ ? आपूर्तिलाई सहज गर्ने उपायहरू के–के छन् भन्ने विषयमा पनि विवरणहरू मागेका छौं,’ तिवारी बताउँछन्। यस समस्यालाई समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस कार्ययोजना पेस गर्न र सबै सरोकारवालाहरूसँग छलफल गर्न निर्देशन दिइएको छ।
मुलुकको दैनिक खपत करिब २ हजारदेखि २५ सय किलोलिटर पेट्रोल र ४ हजारदेखि ४५ सय किलो लिटर डिजेलको छ। २०७६ सालमा भारतले निर्माण गरिदिएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट दैनिक ६ हजारदेखि ७ हजार किलो लिटर आउँछ, जुन २४ सैं घन्टा आयात हुन्छ। अहिले नेपालले देशभरि गरी करिब १ लाख २ हजार किलोलिटर (करिब १० दिनलाई पुग्ने) पेट्रोल तथा डिजेलको भण्डारण गर्न सक्छ। यता, इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातको लागि देशैभरिका उद्योगीहरूलाई निगमले मासिक रूपमा उपलब्ध गराउने परिमाण ४९ हजार ५ सय मेट्रिक टन रहेको छ। अहिलेको मासिक खपत करिब ४६ हजार मेट्रिक टन छ भने दैनिक खपत करिब १५ सय मेट्रिक टन (७०–७५ बुलेट ग्यास) रहेको छ। नेपाल करिब १ करोड ७० लाख ग्यास सिलिन्डर छन्।
ग्यासको आयात र खपतको परिमाणलाई दाँज्दा पनि ग्यास अभाव हुने देखिँदैन। बजारमा ग्यासको हालको मागलाई सम्बोधन गर्न निगमले फेब्रुअरी २०२६ का लागि साविकको परिमाणमा २ हजार मेट्रिक टन थप गर्ने निर्णय गरेको छ। अहिले मासिक ५१ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ।
सन् २०२५ को नोभेम्बर २०२५ मा ४७ हजार २ सय ६४ मेट्रिक टन, डिसेम्बर २०२५ मा ४८,५ सय ३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्यास भारतबाट आयात भएको थियो।
पेट्रोलियम पदार्थको मूल्य किन बढिरहेको छ ?
यही फेब्रुअरी २८ देखि इरानसँगको युद्ध चर्किएपछि मध्यपूर्वी क्षेत्र पनि प्रभावित भएको छ। तेलका खानी भएका यी देश र विश्वको कुल तेल आपूर्तिको २० प्रतिशतदेखि २५ प्रतिशत ओगट्ने स्ट्रेट अफ हर्मुज व्यावसायिक यातायातका लागि लगभग बन्द जस्तै छ। इरानले यो मार्गको प्रयोगलाई लभभग बन्द गरी दिँदा विश्वबजारमा तेल आपूर्ति शृंखलामा असर परेको हो। यो मार्ग पूर्णरूपमा बन्द हुने डरले पनि तेलको मूल्य अकासिएको छ।
स्ट्रेट अफ हर्मुज एक साँघुरो जलमार्ग हो जसले फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्दछ। मध्यपूर्वी तेल उत्पादक राष्ट्रहरूले यही मार्गको प्रयोग गरी विश्व बजारमा तेल निर्यात गर्छन्। सामान्य अवस्थामा यहाँबाट दैनिक करिब २ करोड (२० मिलियन) ब्यारेल कच्चा तेल ओसारपसार हुन्छ।
साउदी अरब, इराक, कुवेत, संयुक्त अरब इमिरेट्स र इरानको तेल यही बाटो भएर विश्वभर पुग्छ। पेट्रोलियम पदार्थसँगै कतारबाट हुने विश्वकै ठूलो हिस्साको ग्यास निर्यात पनि यही मार्गमा निर्भर छ।
युद्धका कारण यो मार्ग पूर्णरूपमा बन्द भयो भने विश्व बजारमा तेलको मूल्य प्रतिब्यारेल ४१०० नाघ्ने र विश्वभर ढुवानी लागत महँगो भई महँगी बढ्ने अन्तर्राष्ट्रिय विश्लेषण रहेको छ।
ट्रम्पको युद्ध अन्त्य हुने संकेतसँगै तेलको मूल्य घट्यो
मध्यपूर्वको तनावका कारण सोमबार करिब १२० अमेरिकी डलर प्रतिब्यारेल पुगेको तेलको मूल्य सोमबार रातिबाट भने घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै नै अन्त्य हुने संकेतसँगै करिब ९२ अमेरिकी डलर प्रतिव्यारेल पुगेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार साँझ सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा इरानसँगको युद्ध अन्त्यतिर भन्ने संकेत गरेपछि विश्वव्यापी बजारमा २४ घण्टामा असाधारण उतारचढावकाबीच तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुबाट तल झरेको छ। ट्रम्पले अन्तर्वार्तामार्फत तेलको अस्वाभाविक मूल्य वृद्धिलाई सामान्य बनाउन खोज्दै तेलको मूल्य ‘मैले सोचेको भन्दा कम नै बढेको’ दाबी गरे र लगानीकर्ताहरूलाई आश्वस्त पार्ने प्रयास गरे।
रुस–युक्रेन युद्ध सुरु भएयता तेलको मूल्य प्रतिब्यारेल करिब १२७ अमेरिकी डलरसम्म पुगेको थियो। सन् २०२१ मा रुस–युक्रेन युद्ध पूर्व तेलको मूल्य प्रतिब्यारेल करिब ५२ अमेरिकी डलर थियो। सन् २०२५ को डिसेम्बरमा करिब ५९ अमेरिकी डलर प्रतिब्यारेल पुगेको तेलको मूल्य सोमबारसम्म करिब १२० सम्म कारोबार भएको थियो।