: अखिल नेपाल फुटबल संघ (एन्फा) र फुटबल खेलाडी संघबीच लामो रस्साकस्सीपछि ए डिभिजन लिग हजाभन्दा बढी दिनपछि मैदानमा फर्कने भएको छ।
मंगलबार एन्फा र खेलाडी संघले यस विषयमा सम्झौता गर्दै ए डिभिजन लिगको मिति टुंगो लगाएका हुन्। टप टायरको लिग नियमित सञ्चालन हुनुपर्ने लगायतका माग राख्दै पछिल्ला केही महिनायता खेलाडी संघले भौतिक रूपमा नै एन्फामा दबाब दिँदै आएको थियो। पटक-पटकको वार्ता र छलफलपछि पनि ए डिभिजनको मिति तय हुन सकेको थिएन। तर, मंगलबार भने खेलाडी संघका पदाधिकारी र एन्फाका पदाधिकारीबीचको बैठकले ए डिभिजनको मिति टुंगो लगाएको हो।
आगामी चैत ३० गते ए डिभिजन लिगको उद्घाटन खेल खेलाउन खेलाडी संघ र एन्फाबीच सहमति भएको हो। वार्तामा खेलाडी संघतर्फबाट अध्यक्ष विक्रम लामा, खेलाडीहरू विकेश कुथु, रोहित चन्द, विराज महर्जन र अन्जन विष्ट सहभागी थिए। एन्फाबाट सचिवालय कार्यसमिति सदस्यहरू, महासचिव किरण राई, इन्द्रमान तुलाधार, रविन्द्र जोशी र प्रवक्ता सुरेश शाहलगायत उपस्थित थिए।
द्विपक्षीय सहमतिमा खेलाडी संघले उठाएको ३ बुँदे मागमध्ये अक्षय कोष र पुरस्कार रकमको विषयमा पनि सहमति भएपछि फुटबल खेलाडी संघले एन्फामा लगाएको ताला खोलेको हो।
बारम्बार एन्फाको प्राङ्गणमा गई विरोध गरेको खेलाडी संघले आफ्नो माग सुनुवाइ नभएको भन्दै आइतबार एन्फा मुख्य कार्यालयमा ताला लगाएको थियो। एन्फा र खेलाडी संघबीच वार्ता भई सहमति भएपछि ताला पनि खुलेको छ। लगभग ३ वर्ष मैदान बाहिरको चर्चामा सीमित बनेको ए डिभिजन लिग मैदानमा फर्कने निश्चित बनेको हो। यद्यपि खेलाडी संघ र एन्फाको सहमति भए पनि यसमा क्लबहरूको आधिकारिक धारणा अझै आएको छैन।
‘यसअघि पनि क्लबहरूले ए डिभिजन लिग गराउने सहमति बारम्बार एन्फासँग गरिसकेको हुँदा कुनै पनि क्लबले यसमा आपत्ति जनाउनु होला जस्तो लाग्दैन,’ क्लबले ए डिभिजन लिग गराउन बारम्बार आनाकानी गरिरहेको बारे पत्रकारको प्रश्नको उत्तर दिँदै एन्फा प्रवक्ता सुरेश शाहले भने।
खेलाडी संघसँग सम्झौता गरेपछि एन्फाले यही हप्ताभित्र क्लबहरूसँग पनि यो विषयमा छलफल गर्ने एन्फा प्रवक्ताले पत्रकार सम्मेलनमा जानकारी गराए।
हजार दिनपछि मैदान फर्कने तयारी
चैत मसान्तसम्म राष्ट्रिय लिगका लागि क्लबहरूले खेलाडीलाई अनुबन्ध गरिरहेका छन्। यसैको मातहतमा रहेर चैत ३० गते ए डिभिजन लिगको उद्घाटन खेल हुनेछ। त्यसको २० दिनपछि वैशाख २० गतेबाट ए डिभिजन लिगको नयाँ सिजन निरन्तर हुने एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले पत्रकार सम्मेलनमा बताए।
‘राष्ट्रिय लिग २६ गतेसम्म सक्ने र ए डिभिजन लिगको उद्घाटन खेल ३० गते गराई त्यसपछि भने २०८३ वैशाख २० गतेबाट ए डिभिजन लिग निरन्तर रूपमा हुने गरी तालिका बन्नेछ,’ निर्देशक मिश्रले भने। हालः भने राष्ट्रिय लिगको मिति चैत २९ गतेसम्म रहेको छ। तर, अब डबल हेडरको स्थानमा ३ खेल गराई एन्फा राष्ट्रिय लिगलाई छोट्याउन चाहन्छ। तर यसो गर्दा खेलाडीलाई खेलबीचमा चाहिने रिकभरी रेस्टको समय भने अपुग हुनेछ।
‘हामीले खेलाडी संघसँग सहकार्य गरेर नै यो निर्णय लिएका हौं। केही रूपमा खेलाडीलाई रिकभरिको समय भने पुग्दैन तर हामी सकभर तालिका मिलाउने छौं,’ निर्देशक मिश्रले भने।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले टप टियरको लिग नहुँदा फुटबल खेलेर जीविकोपार्जन गर्दै आएका खेलाडीको रोजीरोटीमै समस्या भएको भन्दै लिग भएमा फुटबल खेलाडीलाई सहज हुने बताए। ‘हामीले बारम्बार लिग नियमित हुनुपर्ने भन्ने माग राख्दै आएका हौं। राष्ट्रिय टिम निर्माणको आधार पनि ए डिभिजन लिग नै हो। त्यसकारण हामीले यसलाई प्राथमिकतामा राखेका हौं,’ उनले भने, ‘हामीले हाम्रो लागि भन्दा पनि आगामी पुस्ताले नेपालमा फुटबल खेलेर जीवन चलाउन सकोस् भनेर संघर्ष गरिरहेका हौं।’
खेलाडी संघको माग ए डिभिजन लिगको मिति निश्चित गराउनु थियो, जुन आजको सम्झौता अनुसार पूरा पनि भएको छ। चैत ३० गते ए डिभिजन लिग २०८२/८३ को उद्घाटन हुने गरी सम्झौता भएको हो। २०८० जेठ २८ मा सकिएको २०७९/८० को ए डिभिजन लिगपछि ए डिभिजन लिग हुन सकेको थिएन।
क्लबहरूलाई एन्फाको सम्झौतामा आशंका
खेलाडी संघ र एन्फाबीच ए डिभिजन लिग गर्ने सम्झौता भएकै दिन क्लबहरू पनि एन्फा पुगेका थिए। हिमालयन क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पासहितको टोली एन्फा पुगेको थियो। फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले भने, ‘एन्फाले तोकिएकै समयमा ए डिभिजन लिग गराउँछ भन्नेमा शंका छ। एन्फाले सबैलाई झुक्याइरहेको छ।’
उनले हालसम्म आफूहरूलाई अभ्यास गर्ने होम ग्राउन्ड नभएका कारण अभ्यास गर्न समस्या भइरहेको बताए। ए डिभिजन लिगका क्लबहरूले आफूहरूलाई होम ग्राउन्डको व्यवस्था एन्फाले नै मिलाइदिनुपर्ने माग राखिरहेका छन्। सोही मागलाई एन्फाले वेवास्ता गरेकोमा घोर आपत्ति रहेको क्लबहरूले बताएका छन्।
एन्फा कार्यालयमा क्लबहरूले ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले क्लबसँग गरिएको होम एन्ड अवे अवधारणामा लिग गराउन माग गरेका छन्। उनीहरूको मागको शीर्ष स्थानमै होम एन्ड अवे अवधारणामा लिग गराउनुपर्ने उल्लेख गरिएको छ।
खेलाडी संघसँग भएको सम्झौता लागू गर्नुपर्ने तथा लिग (ए, बी र सी डिभिजन) लाई वार्षिक क्यालेन्डरमा राख्नुपर्ने क्लबहरूको माग रहेको छ।
फर्केलान् त दर्शक?
हालः चलिरहेको एन्फा राष्ट्रिय लिग २०८२ मा प्याराफिट खाली छन्। घरेलु फुटबल मैदानमा दर्शक पातलिँदा उनीहरूको संख्या पनि घट्दै गएको छ। गत ३ वर्षयता घरेलु फुटबलको विवादले मैदानमा भन्दा बढी किचलोमा गाँजिएको नेपाली फुटबलले दर्शकको विश्वसनीयता पनि गुमाउँदै गयो। २०८० को जेठ अन्तिममा भएको पछिल्लो संस्करणको ए डिभिजन लिगपछि शीर्ष डिभिजनको लिग नै भएको थिएन।
क्लबहरूले ए डिभिजन लिग गराउन गरेको आनाकानी र एन्फाको कुर्सीको राजनीतिबीच खेलाडीको खेल्ने समय बित्दै गएको थियो। यस्तो अवस्थामा सबैले बिर्सिएको जस्तै गरी दर्शकले पनि नेपाली फुटबललाई बिर्सिए। राष्ट्रिय लिगको रूपमा साढे २ वर्षपछि नेपालको घरेलु फुटबल मैदानमा फर्कियो, तर दर्शक फर्किएनन्। खाली प्याराफिटबीच राष्ट्रिय लिग भइरहेको छ। खेलाडी र प्रशिक्षक पनि दर्शकबिना फुटबल खल्लो भएको भन्दै खेल्न बाध्य छन्।
नेपाली फुटबलका सम्बन्धित निकायले टिकटको मूल्य बढी राख्नु तथा आधिकारिक प्रसारण पनि पैसा तिरेर हेर्नुपर्ने एमएसएम डिजिटलको एपबाट गरिँदा हाल भइरहेको राष्ट्रिय लिगको चर्चा खासै छैन। यस्तो अवस्थामा ए डिभिजन लिग हुँदा दर्शक मैदान फर्काउन एन्फाले के कस्तो कार्य गर्छ भन्ने पत्रकारको प्रश्नमा लिग निर्देशक सञ्जीव मिश्रले भने, ‘दर्शकलाई मैदानमा फर्काउन एन्फाले भन्दा पनि सम्बन्धित क्लबले फ्यान क्लबहरू बनाएर उनीहरूलाई आफूतर्फ तान्न सक्नुपर्छ।’
उनले थपे, ‘हामीले पनि गर्नुपर्ने कामहरू स्पोन्सर, मार्केटिङजस्ता विषयमा थप काम गरी दर्शकलाई मैदान फर्काउने वातावरण निर्माण गर्नेछौं।’