मुख्य समाचार
अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको युद्ध १२औं दिनमा प्रवेश
अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको युद्ध १२औं दिनमा प्रवेश

: अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको युद्ध १२औं दिनमा प्रवेश गरेको छ । तेहरानका अनुसार देशभर करिब १० हजार नागरिकस्थलमा बमबारी भएको छ । जसमा १,३०० बढी सर्वसाधारण मारिएका छन् ।


मंगलबार राति तेहरानको मेहराबाद विमानस्थलसहित विभिन्न स्थानमा बम आक्रमण गरिएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिमाथि आक्रमण जारी राखेको छ । यसले विश्व ऊर्जा मूल्यमा समेत तीव्र वृद्धि गराएको छ ।


यसबीच वासिङ्टनमा पनि राजनीतिक दबाब बढ्दै गएको छ । अमेरिकी सांसदहरूले युद्धको उद्देश्यबारे सार्वजनिक सुनुवाइ गर्न माग गरेका छन् र अमेरिकी सैनिक हताहती बढ्दै जाँदा प्रशासनको रणनीतिमाथि प्रश्न उठाएका छन् ।



हालसम्म इरानभित्र के–के भए ?
तेहरानका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा अमेरिका र इजरायलले करिब १० हजार नागरिकस्थलमा आक्रमण गरेका छन्, जसका कारण १,३०० भन्दा बढी नागरिक मारिएका छन् ।

नागरिक पूर्वाधारमाथि हमला गरेको आरोप
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावानीले अमेरिका र इजरायलले घर तथा स्वास्थ्य केन्द्रसहित नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको आरोप लगाएका छन् ।

हवाई तथा नौसैनिक आक्रमण
मध्य तेहरानको आवासीय क्षेत्रमा इजरायली हवाई आक्रमणपछि शक्तिशाली विस्फोट सुनिएको बताइएको छ । रेड क्रिसेन्टका अनुसार एक आवासीय भवनमा प्रहार भएको छ र उद्धार टोलीले भग्नावशेषभित्र मानिस खोजिरहेका छन् ।

इरानको प्रतिकारात्मक आक्रमण
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोरले ३७ औं चरणको आक्रमण गर्दै ‘सुपर–हेभी खोरमशहर’ मिसाइल प्रहार गरेको जनाएको छ। तीन घण्टाभन्दा बढी चलेको यो आक्रमणमा तेलअभिव, हाइफा र पश्चिम यरुशलमका साथै इराकको एरबिल, बहरेनको मनामा लगायत अमेरिकी आधारहरूलाई निशाना बनाइएको बताइएको छ ।

अमेरिकी हवाई आक्रमण जारी
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले मंगलबारलाई ‘सबैभन्दा तीव्र आक्रमणको दिन’ हुने चेतावनी दिएका थिए । तेहरानका कम्तीमा आठ जिल्लामा आक्रमण भएको र ठूलो विस्फोट सुनिएको रिपोर्ट आएको छ ।

प्रदर्शनकारीलाई ‘शत्रु’ ठहरिने चेतावनी
इरानका प्रहरी प्रमुख अहमद–रेजा रादनले देशका शत्रुलाई समर्थन गर्नेहरूलाई अब प्रदर्शनकारी होइन, शत्रुका रूपमा व्यवहार गरिने बताएका छन् ।

‘कालो वर्षा’ को खतरा
विश्व स्वास्थ्य संगठनले तेल डिपोमा आक्रमणपछि उत्पन्न धुवाँ वर्षासँग मिसिएर ‘कालो वर्षा’ हुन सक्ने र त्यसले स्वास्थ्य जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।

खाडी क्षेत्रका देशहरूमा के–के भए ?

साउदी अरब– साउदी रक्षा बलले इरानबाट प्रहार गरिएका ड्रोन र ब्यालिस्टिक मिसाइलहरू अवरोध गरेको जनाएको छ ।
कतार–कतारको रक्षा मन्त्रालयका अनुसार देशतर्फ लक्षित मिसाइल आक्रमणलाई रोकिएको छ र स्थिति अहिले सामान्य रहेको छ ।
संयुक्त अरब इमिरेट्स–यूएईले मंगलबार २६ वटा ड्रोन रोकेको जनाएको छ, तर ९ वटा देशभित्र खसेका थिए । अबुधाबीको रुवाइस औद्योगिक कम्प्लेक्समा ड्रोन आक्रमणपछि आगलागी भएको छ ।

कूटनीतिक प्रयास
कतारले मध्यपूर्वमा तनाव घटाउन र इरान तथा अमेरिका वार्तामा फर्किन आग्रह गरेको छ ।

ठूलो तेल रिफाइनरी बन्द
यूएईको रुवाइस रिफाइनरीमा ड्रोन आक्रमणपछि सावधानीका रूपमा सञ्चालन बन्द गरिएको छ । कुवेतमा अमेरिकी बेस लक्ष्य–इरानी रिभोलुसनरी गार्डका अनुसार कुवेतस्थित अमेरिकी बेसतर्फ कम्तीमा दुई मिसाइल प्रहार गरिएको छ ।

हर्मुज जलडमरुमा जहाजमा हमला
बेलायती सेनाका अनुसार अज्ञात प्रक्षेप्य लागेपछि एक कार्गो जहाजमा आगलागी भएको छ र चालक दलले उद्धारको अनुरोध गरेको छ।

अमेरिकाभित्र के–के भयो ?
कंग्रेसको दबाब
युद्धको उद्देश्य र अवधि स्पष्ट नभएको भन्दै अमेरिकी सिनेटका डेमोक्र्याट सांसदहरूले सार्वजनिक सुनुवाइको माग गरेका छन् ।

अमेरिकी सैनिक क्षति
पेन्टागनका अनुसार ‘अपरेसन एपिक फ्युरी’ सुरु भएदेखि हालसम्म १४० अमेरिकी सैनिक घाइते भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

स्कुलमा भएको आक्रमणको अनुसन्धान
इरानको एक बालिका विद्यालयमा भएको आक्रमणमा करिब १७५ विद्यार्थीको मृत्यु भएको घटनाबारे अमेरिकी सेनाले अनुसन्धान गरिरहेको छ ।

हर्मुजमा इरानी जहाज नष्ट
अमेरिकी सेनाले हर्मुज जलडमरु नजिक इरानका १६ वटा माइन बिछ्याउने जहाज नष्ट गरेको जनाएको छ ।
नागरिकको उद्धार–मध्यपूर्वबाट ४३ हजारभन्दा बढी अमेरिकी नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

इजरायलमा इरानी मिसाइल आक्रमण
इजरायली मिडियाका अनुसार इरानले प्रहार गरेका सबै मिसाइलहरू अवरोध गरिएको छ, तर तेलअभिव लगायत क्षेत्रमा साइरन बजेको थियो ।

तेल संरचनामा आक्रमणबारे अमेरिकी असन्तुष्टि
अमेरिकाले इजरायललाई इरानका ऊर्जा संरचनामा हमला नगर्न चेतावनी दिएको खबर आएको छ ।

साइबर जासुसी
इजरायलको साइबर सुरक्षा निकायले इरानी ह्याकर्सले सुरक्षा क्यामेरामा घुसपैठ गरेको जनाएको छ ।
लेबनान र इराक

लेबनानमा तीव्र आक्रमण
बेरुतको आवासीय भवनमा इजरायली बमबारी हुँदा ठूलो क्षति भएको छ । गत सोमबारदेखि कम्तीमा ५७० जनाको मृत्यु भएको बताइएको छ ।

इरानी कूटनीतिज्ञको हत्या
बेरुतमा भएको आक्रमणमा चार इरानी कूटनीतिज्ञ मारिएपछि इरानले संयुक्त राष्ट्रसंघमा न्यायको माग गरेको छ ।

विस्थापन
संयुक्त राष्ट्रसंघका अनुसार लेबनानमा ६ लाख ६७ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

इराकमा हवाई आक्रमण
इराकका प्रधानमन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई आफ्नो देशलाई आक्रमणको आधारस्थल नबनाउन आग्रह गरेका छन् । इराकको कुर्दिस्तान क्षेत्रमा इरानले आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...