— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च ९ लाख ८९ हजार रुपैयाँ मात्रै भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका उनले आफ्नो मंगलबार निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण पेश गरेका छन्।
पेश गरिएको विवरणमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, नमुना मतपत्र सामग्री छपाइका लागि ६८ हजार १६१ रुपैयाँ, तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजामा १४ हजार २०० रुपैयाँ, प्रचार सामग्री (झण्डा, ब्याच, स्टिकर) खरिदमा १ लाख १२ हजार रुपैयाँ, तथा व्यानर निर्माणमा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ र हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च गरिएको छ।
निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।