— १० वर्षे सशस्त्र विद्रोहको बाटो छोडेर शान्ति प्रक्रियामा आएपछि २०६४ सालको संविधानसभा निर्वाचनमार्फत तत्कालिन माओवादी केन्द्रले पहिलोपटक संसदीय चुनाव लड्यो । साबिकको रुकुमबाट प्रत्यक्ष उम्मेदवार थिए जनार्दन शर्मा । र, उनलाई जिताउन त्यसबेलाका चुनावी कमाण्डर थिए, गोपाल शर्मा । यसपछिका निर्वाचनमा गोपालले पार्टी सम्हाले, जनार्दनले संसद ।
तर, समय एकै रहेन । त्यसबेला एउटै पार्टी–संगठनमा रहेका गोपाल र जनार्दन यस पटकको निर्वाचनमा भने एकअर्काको प्रतिस्पर्धी बने । माओवादीबाट बनेको नेकपामा गोपाल रहिरहे भने जनार्दनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरे । दुवैजना एउटै निर्वाचन क्षेत्रमा फरक फरक पार्टीबाट चुनाव लडे ।
परिणाम आयो गोपालको पक्षमा, कांग्रेसका उम्मेदवार राजु केसी दोस्रो र जनार्दन तेस्रो भए । २०६४ पछिका ४ वटा निर्वाचनमा जनार्दन जिताउन लागेका गोपाल यसपटक भने उनैलाई हराउदैं सासंद भएका छन् ।
आइतबार बिहानपख मतगणना सकिएपछि दिउँसो नेकपाले सदरमुकाममा विजय जुलस निकाल्यो । जुलुसपछि आयोजित कोणसभामा गोपालले जनार्दनप्रति लक्षित गर्दै भने, ‘मत माग्न जनतमाँझ जाँदा मेरो पाखुरा समातेर मतदाताले तँलाई जिताउन त जिताउछौं तर पहिलाको मान्छे जस्तो धोका नदिएस् । बीचमा छोडेर नगएस्, गद्दारी नगरेस् भन्नुभयो । म त्यही कुरा सम्झिएर अहिले यहाँ उभिएको छु । मेरो वाचा भयो, मबाट कुनै पनि प्रकारको धोका र गद्दारी हुने छैन ।’
२०४६ सालमा १२ वर्षको हुँदा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका गोपाल शर्मा यसबीचमा पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै २०७४ सालमा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भई अर्थमन्त्री समेत भइसकेका छन् ।
जर्नादनले पार्टी छोड्नु र अहिले प्रतिस्पर्धी हुनुलाई गोपालले विडम्बनाका रुपमा लिएको बताएका थिए ।
यसपटकको चुनावी प्रचारमा नेकपा र प्रलोपाका नेता कार्यकर्ताले एकअर्काको विरोध र आलोचना गरे । यसबाट अनुमान लगाउन सकिन्छ, अब यी दुईबीचको पुनर्मिलन लगभग असम्भव जस्तैं छ ।
जनार्दनले गत आइतबार समाजिक संजालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै गोपाललाई बधाई तथा शुभकामनासहित मतदातालाई आभार व्यक्त गरेका छन् । र, एकीकृत रुकुम विकासको योजनालाई अघि बढाउन पदमा नरहँदा पनि पहल गर्ने बताएका छन् । यसबाहेक उनले आगामी योजनाबारे भने केही बताएका छैनन् ।
एमाले र उज्यालो नेपाल पार्टीले आफ्ना उम्मेदवारलाई निष्कृय बनाएर जनार्दनलाई समर्थन गर्दा पनि उनको पक्षमा अपेक्षित परिणाम आउन सकेन । २०६४ पछिको माओवादी विरासतको निरन्तरताका रुपमा गोपाल शर्मा पहिलोपटक संसद छिर्दै गर्दा १८ वर्षदेखिको जनार्दन शर्माको संसदीय यात्रामा भने हाललाई बिराम लागेको छ ।
जनार्दन हुन् वा गोपाल जो भए पनि अन्ततः रुकुमको विकास र यहाँका जनमनका माग अनि आवश्यकताहरूको उचित सम्बोधन गर्नु प्राथमिक विषय भएको मतदाताको भनाइ छ ।