— जिल्लामा ८९ उम्मेदवारको धरौटी जफत भएको छ । तीन निर्वाचन क्षेत्रका तीन/तीन जना गरी नौ जनाले मात्र धरौटी जोगाएका छन् ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार थिए । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाए उनीहरूको धरौटी जफत हुने व्यवस्था छ । क्षेत्र नं १ मा ३४ उम्मेदवारमध्ये ३१ जनाको धरौटी जफत भएको छ । त्यस्तै क्षेत्र नं २ मा २८ मध्ये २५ र क्षेत्र नं ३ मा ३६ मध्ये ३३ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नं १ बाट एमाले उम्मेदवार तथा संविधानसभा सदस्य विश्रामप्रसाद चौधरी र क्षेत्र नं २ बाट एमाले उम्मेदवार तथा पूर्वराष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेको धरौटी पनि जफत भएको छ । चौधरीले ७ हजार ९ सय ८१ र पाण्डेले ७ हजार ३ सय ५७ मत पाए । त्यस्तै, क्षेत्र नं ३ बाट राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार तथा पूर्वराज्यमन्त्री ईश्वरदयाल मिश्रको पनि धरौटी जफत भएको छ । मिश्राले ५ हजार १७ मत मात्र पाएका थिए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका क्षेत्र नं १ का उम्मेदवार कृष्ण कुँवर र क्षेत्र नं ३ का उम्मेदवार एहसान अहमद खाँले समेत धरौटी बचाउन सकेनन् । कुँवरले ४ हजार ६ सय १६ मत पाउँदा खाँले ४ हजार २ सय ५१ मत पाएका छन् ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही १० हजार रुपैयाँ जमानत (धरौटी) राखेर आवेदन भर्नुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार निर्वाचनमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको दफा २२ बमोजिम दाखिला गरेको धरौटी रकम जफत हुने व्यवस्था छ ।