: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने बताएका हुन्।
ओलीले भने, ‘हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’
ओलीले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उल्लेख गरे। ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।’ उनले भने,‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।’
अध्यक्ष ओलीले कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकलाई धन्यवाद दिएका छन्। उनले भने, ‘हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।’
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली रास्वपाका वरिष्ठ नेता एवम् पूर्वमेयर बालेन्द्र शाह बालेनसँग पराजित भएका थिए। रास्वपाले १२५ सिट जित्दा एमालेले प्रत्यक्षमा ९ सिटमात्र प्राप्त गरेको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फ खसेको कुल १ करोड १२ लाख ८० हजार ८ सय ९८ मतमध्ये १ करोड ८ लाख ३५ हजार २७ मत सदर भएको छ। जसमा रास्वपाले सर्वाधिक ५१ लाख ८३ हजार ४ सय ९३ मत प्राप्त गरेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय २५ सिट जितेको छ भने समानुपातिकतर्फको १ सय १० सिटमध्ये ५७ सिट पाउने देखिएको छ। यसरी प्रत्यक्ष र समानुपातिक गरी रास्वपाको कुल १ सय ८२ सिट पुग्ने देखिएको छ, जुन दुईतिहाइ बहुमत (१ सय ८४ सिट) भन्दा मात्र दुई सिट कम हो।