: फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिएको छ । इलाका प्रहरी कार्यालय सिमराले आफू मातहत तालिम लिएका तीन सय ६ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानका साथ बिदाइ गरेको हो ।
देशभर खटाइएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गर्न निर्देशन गरिएको थियो । सोही अनुरुप इलाका प्रहरी कार्यालय सिमराले आफ्नो मातहत तालिम लिएर निर्वाचनमा खटिएका प्रहरीलाई बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले निर्वाचन प्रहरीलाई टीका लगाएर प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र प्रदान गर्दै क्षेत्रीले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
null
कार्यक्रमका आफ्नो जिम्मेवारी पूरा गरी घर फर्कन लागेका निर्वाचन प्रहरीहरू खुशी देखिन्थे । कार्यक्रममा अन्य प्रहरी अधिकृतहरूले पनि निर्वाचन प्रहरीहरूको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रमम प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्रीलगायत सहभागी थिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि बारामा नेपाल प्रहरीतर्फ तीन हजार ६ सय ३८ जना र सशस्त्र प्रहरीतर्फ ३ सय ९८ जना निर्वाचन प्रहरीको भर्ना गरिएको थियो । तीमध्ये इलाका प्रहरी कार्यालय सिमराको मातहतमा रहेका तीन सय ६ जना निर्वाचन प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा खटाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जिल्लामा भर्ना गरिएका सबै निर्वाचन प्रहरीको बिदाइ गरिएको जानकारी दिए । निर्वाचन प्रहरीले तालिम लिएको स्थानबाटै उनिहरुलाई बिदाई गरेर घर पठाइएको प्रवक्ता पण्डितले बताए ।