— जिल्ला प्रशासन कार्यालय भक्तपुरले खाना पकाउने ग्यासको अनुगमन सुरु गरेको छ । नेपाल अयल निगमले नियमित रुपमा बजारमा ग्यास आपूर्ति गर्दा समेत उपभोक्ताले नपाएको गुनासो गरेपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको हो ।
प्रशासन कार्यालयको नेतृत्वमा भक्तपुर उद्योग तथा बाणिज्य कार्यालय, भक्तपुर घरेलु तथा साना उद्योग संघ, राष्ट्रिय उपभोक्ता हित मञ्च तथा पत्रकार महासंघ भक्तपुरको संयुक्त अनुगमन टोलीले भक्तपुरका व्यासी, कमलविनायक, जगाती र सूर्यविनायकका ग्यास डिपो तथा खुद्रा बिक्री केन्द्रहरूमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश डिपोमा नियमित ग्यास आइरहे पनि माग धेरै रहेकाले बजारमा अभाव देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उपभोक्ताले ग्यास जगेडा राखेकै कारण बजारमा अभाव भएको जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले बताए । उनका अनुसार खाडी मुलुकमा चर्किएको द्वन्द्वका कारण उपभोक्तामा ग्यास अभाव हुने संन्त्रास फैलिएका कारण स्टक राखेका कारण बजारमा जति आए पनि अभाव भएको हो ।
अहिले प्रत्येक ग्यास डिपोमा कम्तिमा सयजनाले नाम टिपाएको व्यापारी पूर्णबहादुर त्वाती बताउँछन् । सातामा ६ सय वटा ग्यास आए पनि उपभोक्तहरुलाई समयमै ग्यास दिन नसकिएको उनको भनाइ छ ।