— सुर्खेतकी इनिशा विश्वकर्माको हत्यामा संलग्नमाथि कडा कारवाहीको माग गर्दै कालीकोटका अधिकारकर्मीहरुले मान्म बजारमा प्रर्दशन गरेका छन् ।
हातेमालो सहायता फाउण्डेसन, नेपाल तरुण दल, महिला मानव अकिार रक्षक सञ्जालको अगुवाईमा अधिकारकर्मीसहित स्थानीय युवाले मान्म बजारमा प्रर्दशन गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाए ।
सुर्खेतको गुर्भाकोट बडाखोली घर भएर वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया बालिकाको गत शनिबार बलात्कारपछि हत्या भएको थियो । अधिकारकर्मी कटक विश्वकर्माले प्रजिअ गोर्कणराज सुयललाई ज्ञापन पत्र बुझाउँदै दलित समुदायका बालिका र किशोरीमाथि जघन्य अपराध हुँदा राज्यले सुनुवाई नगरेको गुनासो पोख्दै राजनैतिक संरक्षण र पहुँचका आधारमा अपराधीले उन्मुक्ति पाए दलित समुदाय चुप लागेर नबस्ने चेतावनी दिए ।
उनले ४ वर्षअघि कालीकोटको खाडाचक्र-६ दाहाकी १६ वर्षीया निरु विकको पनि बलात्कारपछि हत्या भएकोमा हालसम्म दोषीको खोजी नै नगरेर अनुसन्धान रोकिएको गुनासो पोखे । उनले सुर्खेतकी इनिशा, कालीकोटकी निरु, कन्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टको हत्यामा सलग्नलाई हदैसममको कारवाही हुनुपर्ने माग राखे ।
इनिशा हत्याविरुद्ध छुट्टै ज्ञापन पत्र बुझाउँदै नेपाल तरुण दलका अध्यक्ष दमन शाहीले अपराधीलाई कडा कारवाही हुनुपर्ने माग गरे ।
समाजमा बालिकामाथि हुने हिंसा बढ्दै गएको सुनाउँदै मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष निस्ता कुमारी कार्कीले अपराधमा संलग्नलाई विभिन्न बहानामा उन्मुक्ति दिने प्रबृत्तिले अपराध बढ्दै गएको बताइन् । उनले किशोरी र छोरीलाई आत्मसुरक्षा र आत्मरक्षा सम्बन्धी तालिम दिनुपर्ने माग पनि राखिन् ।