मुख्य समाचार
बिहे भोजमा गएका दुई बालिकाको शव फेला
बिहे भोजमा गएका दुई बालिकाको शव फेला

— बिहे भोज खान गएका दुई छोरी गुमाएपछि बाँफीकोट गाउँपालिका–३ गरालाबोटकी पविता ओली विक्षिप्त बनेकी छिन् । बेलाबेला टोलाउने र बेहोस भइरहेकी उनका आँखा अहिले ओभाएका छैनन् ।

गत सोमबार साँझ नदीपारिको बस्तीमा बिहे भोज खान गएका उनका दुई छोरी कल्पना र उर्मिला मंगलबार बिहान नदी छेउमा मृत अवस्थामा भेटिएका हुन् । उनका अनुसार सोमबार साँझ ५ बजेतिर कल्पना, उर्मिलासँगै छोरा अमृत र जेठाजूकी छोरी सपना सानीभेरी नदीमाथिको झोलुङ्गे पुल तरेर करिब १ घण्टा टाढा रहेको मुसिकोट नगरपालिका–१ स्थित भलखोलामा साथीको बिहेमा सहभागी हुन गएका थिए ।

सोही राति ८ बजेतिर कल्पना, उर्मिला र सपना बिहे घरबाट आफ्नो घरतिर फर्किए पनि गन्तव्यमा भने पुगेनन् । भोलिपल्ट बिहान साढे ८ बजेतिर करिब २ सय मिटरको फरकमा घरदेखि तल रहेको नदी किनारमा कल्पना र उर्मिलाको शव भेटियो । सपना भने अहिलेसम्म बेपत्ता छिन् ।

मृतक र बेपत्ता भएकाहरूसँग घरबाट सँगै गएका उनीहरूका दाइ १८ वर्षीय अमृतले आफूले बिहे घरमा बहिनीहरूलाई राति ८ बजेसम्म देखेको बताए । ‘८ बजेपछि मैले उनीहरूलाई त्यहाँ देखिनँ । घर आए होलान् भन्ठानेँ अनि म साथीहरूसँग राति १२ बजेतिर फर्किएर साथीकोमै सुतेँ । बिहान त यस्तो घटना भयो,’ उनले भने ।

मंगलबार बिहान गाउँलेले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव कल्पनाको भन्ने पहिचान खुल्यो । अनि साथैमा गएका अरू दुई जना (उर्मिला र सपना)बारे सोधीखोजी गर्दा केहीबेरमा करिब २ सय मिटर तल उर्मिलाको पनि शव भेटियो । सपनाको बारेमा भने अत्तोपत्तो भएन ।

यसपछि छोरीहरू गुमाएकी आमा पविता र उनको परिवार शोकमा डुबेको छ भने पविताका जेठाजूकी छोरी सपनाको बिहीबार साँझसम्म अत्तोपत्तो छैन । सपनाका बुबा लोकबहादुर र आमा डिलसरा पनि विक्षिप्त बनेका छन् । बुधबार मृतक उर्मिला र कल्पनाको पोष्टमार्टम गरेर सोही दिन अन्त्येष्टि गरिएको थियो । सपनाको खोजीका लागि आफन्त र प्रहरी नदी छेउछाउ खटिएका छन् ।

१३ वर्षीया उर्मिला र सपना मुसिकोट–१ मा रहेको त्रिपुरा माविमा कक्षा ६ मा पढ्थे । ११ वर्षकी कल्पना गाउँकै जनहित आविमा कक्षा ५ मा पढ्थिन् । घरबाट करिब १ घण्टाको दूरीमा नदीपारि रहेको विद्यालयमा एक वर्षदेखि पुल तरेर उनीहरू घर–स्कुल आवतजावत गरिरहन्थे । यसकारण उनीहरूका लागि यो बाटो नयाँ थिएन । बिहेबाट फर्किने बेलामा नदी तर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले उनीहरू नदी तर्ने क्रममा बगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘हामीले घटनास्थलदेखि शवको अवस्था र अरू विषय–प्रसंगमा अनुसन्धान गर्दा अन्य शंका गर्ने ठाउँ देखिएको छैन,’ उनले भने, ‘पोस्टमाटम रिपोर्ट फाइनल नआए पनि चिकित्सकले पानीमा डुबेकै कारण दुवैको ज्यान गएको बताएका छन् ।’ पुल हुँदा हुँदै उनीहरू नदी किन तरे होलान् भन्ने कुरा भने खुलेको छैन । विद्यालय आउजाउ गर्दा उनीहरू पुल नै तरेर आउजाउ गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ ।

तीन छोरी र एक छोरा गरी चार सन्तान थिए पविताका । तीमध्ये उर्मिला तेस्रो र कल्पना कान्छी सन्तान हुन् । श्रीमान‍्ले दुई वर्षअघि अर्को बिहे गरेर आफूहरूको सम्पर्कमै नरहेको उनले बताइन् । उता बेपत्ता भएकी सपनाका बाआमाले छोरीको खोजीका लागि गुहार लगाएका छन् । प्रहरीले यस प्रकारका घटना प्रहरी रेकर्डमा रहिरहने र आवश्यक अनुसन्धान चलिरहने भन्दै पीडित आफन्तलाई सम्पर्कमा राख्ने र कुनै पनि शंका लाग्ने कुरा पाइएमा अनुसन्धान अघि बढाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको वैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । आज पार्टी केन्द्रीय कार्यालय सानेपाको बीपी स्मृति भवनमा बसेको अनुशासन समितिको वैठकले यस्तो निर्णय गरेको हो । अनुशासन समितिले खड्काले ...
: सरकारले गत भदौ २३ र २४ गते भएको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
: सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । सरकारले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति ...
: सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो। २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग ...
: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना ...