मुख्य समाचार
सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानबिन गर्न आदेश
सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानबिन गर्न आदेश

— सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानबिन गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान गर्नुपर्ने छ ।

नेकपाका नेता कुमार पौडेलको हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी राउत (हाल निर्वाचन आयोग सचिव) सहित दश जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश जारी गरेपछि अनुसन्धान अघि बढाउनु पर्ने भएको हो ।

के थियो घटना?

सर्लाही लालबन्दीका कुमार पौडेलमाथि इन्काउन्टरको नाममा २०७६ साल असार ५ गते सुरक्षाकर्मीले गोली हानेर हत्या गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन आयुक्त गोविन्द पौडेलको संयोजकत्वमा बनेको छानबिन समितिले समेत सो घटनालाई हत्या भएको भनी किटान गर्दै सबैलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको थियो । त्यतिबेला सरकारका गृहमन्त्री रामबहादुर थापा बादल थिए भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए ।

सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका नाममा परमादेश जारी गरेको हो ।

जाहेरीमाथि अनुसन्धान नभएको भन्दै आमा दुर्गादेवी पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । त्यसको करिब पाँच वर्षपछि न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अघि बढाउनु भनी बिहीबार आदेश जारी गरेको हो । यसअघि १२ असोज, २०७८ मा पनि सर्वोच्चले जाहेरीमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशसँगै जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीमा पेश भएको किटानी जाहेरीमाथि अनुसन्धान अघि बढाउनुपर्ने छ । अब पूर्वगृहमन्त्री एवं नेकपा एमालेको समानुपातिक सूचीका उम्मेदवार रामबहादुर थापा बादल र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र घटनामा संलग्न प्रहरीहरुमाथि फौजदारी अनुसन्धान गर्नुपर्ने छ ।

के भनेको थियो मानव अधिकार आयोगले?

घटनापछि मानव अधिकार आयोगको टोलीले अनुसन्धान गरेको थियो । परिवारवाट गैर न्यायीक हत्या भएको तर दोहोरो भिडन्त भनिएको भनी मानव अधिकार आयोगमा छानबिनका लागि गुहारिएको थियो । आयोगको प्रतिवेदन अनुसार, प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा खटिएको टोलीले पौडेलको हत्या गरेको पाईयो ।

पौडेललाई नियन्त्रणमा लिइएर गोली चलाइएको भन्ने निष्कर्षसहित मानव अधिकार आयोगले प्रतिवेदन तयार गर्दा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको भूमिकामाथि प्रश्न उठेको थियो । र प्रदेश २ को प्रदेश प्रहरी कार्यालय पनि इन्काउन्टरमा समन्वयकारी भूमिकामा थियो । जसको नेतृत्व एआईजी हरि पालले गरेका थिए ।

प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि अनावश्यक रुपमा बल प्रयोग गरी ९ गोली हानी मारिएको आयोगको प्रतिवेदनमा छ । प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्त भनी दाबी गरे पनि कतैबाट पुष्टि नभएको आयोगले भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको वैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । आज पार्टी केन्द्रीय कार्यालय सानेपाको बीपी स्मृति भवनमा बसेको अनुशासन समितिको वैठकले यस्तो निर्णय गरेको हो । अनुशासन समितिले खड्काले ...
: सरकारले गत भदौ २३ र २४ गते भएको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
: सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । सरकारले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति ...
: सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो। २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग ...
: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना ...