— तातोपानी–४ नियापानेका भद्रवीर सार्की गाउँमा चौबिसै घण्टा बिजुली बल्दा छक्क छन् । दियालोबाट उज्यालोको जोहो गर्दै आएका उनी अहिले बिजुली बालिरहेका छन् । पहिले हुनेखानेले सोलार किनेर बत्ती बाले। केहीले मैनबत्ती प्रयोग गरे त केहीले लालटिनसम्म बाले,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका हामीहरुले दियालो नै बाल्यौं ।’
अहिले रातिको समयमा उनको गाउँ नै उज्यालो देखिन्छ । जसले बालबालिकाको पठनपाठनदेखि विद्युतीय उपकरण प्रयोगमा सहजता भएको छ । तातोपानी–४ की कमला नेपाली बिजुलीले स्वास्थ्यमा सुधार हुनुको साथै सरसफाइमा समेत टेवा पुगेको बताउँछिन् । पहिले एक त सल्लाको दियालोले धुवा धेरै हुने गरेको थियो। त्यो भन्दा बढी घर कालो बनाउने र बिरामी पर्ने संभावना थियो,’ कमलाले भनिन्, ‘अहिले त बिजुलीले उज्यालो मात्र दिइरहेको छैन । स्वास्थ्य र सरसफाइका क्रियाकलापमा समेत राम्रो प्रभाव परेको छ ।’ उनका अनुसार अहिले गाउँमा इन्टरनेट चलेको छ । जसले आफन्तहरुसँग भिडियोमा कुरा गरेर सुखदुःख साट्ने काम भइरहेको छ ।
भद्रवीर र कमला जस्तै झण्डै तीन हजार घरधुरीमा गिडिखोला जलविद्युत आयोजनाको बिजुली बलेको छ । अँध्यारोमा रात बिताउन बाध्य स्थानीय अहिले झलमल्ल उज्यालो पाइरहेका छन् । २१४ किलोवाट क्षमताको उक्त आयोजनाले तातोपानी गाउँपालिकाका ८ वडामध्ये ६ वडामा बिजुली पुगेको छ ।
चन्दननाथ नगरपालिकाका तीन वडा पनि यो आयोजनाको पहुँचमा छन् । जालपादेवी विद्युत सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बिजुली बल्दा गाउँ मात्र झिलिमिली नभएर बजारलाई समेत बेचिरहेको बताए । गिडिखोला जलविद्युत आयोजना १० करोड लागतमा निर्माण भएको हो ।
२०६१ सालदेखि विद्युत निर्माणको काम सुरू भए पनि २०७४ सालदेखि बिजुली उत्पादन भएर गाउँबस्तीमा विस्तार गरिएको थियो । अध्यक्ष पाण्डेका अनुसार १६ करोड लागत इस्टिमेट रहेकोमा १२ करोडमा टेन्डर आहृवान भई १० करोडमा ठेकेदारले निर्माणको जिम्मा लिएका थिए ।
बिजुली निर्माणमा १ करोड ५० लाख रुपैयाँ स्थानीयको लगानी छ । १ करोड ६३ लाख रुपैयाँ बैंकको ऋण छ। बैकल्पिक उर्जाले एडिबीको ५ करोड ७० लाख रुपैयाँ अनुदान दिने भनेकोमा ४ करोड रुपैयाँ मात्रै दिइएको थियो ।
तातोपानी गाउँपालिकाका ६ वटा वडाका जर्मी लाछु, डाँगीबाडा, बाबिरा, रावतबाडा, खड्कबाडा, धौलापानी, हियाँखोला, गौतमबाडा, जैतपुर, हाँकु, नियापानी, गिडिखोला, पत्थेनी, ऐरेनी, लाम्रालगायतका गाउँमा चौबिसै घण्टा बिजुली बलिरहेको छ । चन्दननाथ–८, ९ र १० का बोहोरागाउँबाहेक सबै गाउँमा यही आयोजनाको बिजुली पुगेको छ । ‘गाउँमा विद्युतको प्रयोगले फर्निचर उद्योगदेखि कुटानी पिसानी मिल संचालन गरिएका छन् । बालबालिकालाई लेखपढका लागि समेत राहत भएको छ,’ अध्यक्ष पाण्डेले भने ।
अहिले विपन्न परिवारका घरमा निःशुल्क विद्युत लाइनसमेत जोडिएको छ । न्यूनतम महशुल १ सय रूपैयाँ तोकिएको छ । हिउँदमा मासिक २ लाख २० हजार र बर्खायाममा १ लाख २५ हजार रूपैयाँसम्म आम्दानी भइरहेको छ । अध्यक्ष पाण्डेले ३७ सय मिटर टाढादेखि नहर बनाएर निकालिएको बिजुली राम्रो आम्दानीको स्रोत बनिरहेको बताए ।