— प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले ५६ उम्मेदवारमध्ये तीन जना विजयी भएको र अन्य ६ जनाले मात्र जमानत जोगाउन सफल भएको जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदरको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार यसपटक बाँकेका ४७ उम्मेदवारले आवश्यक मत पुर्याउन नसक्दा धरौटी रकम गुमाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार यसपटक विजयी हुने र जमानत जोगाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवार मात्र रहेका छन् । तीनवटै क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राप्रपाका उम्मेदवारको समेत धरौटी जफत भएको छ ।
क्षेत्र नम्बर १ मा १४ जनामध्ये ११ जनाको धरौटी जफत भएको छ । सार्वजनिक मत परिणाम अनुसार यहाँ रास्वपा, कांग्रेस र एमालेका उम्मेदवार बाहेक सबैको जमानत जफत भएको छ । क्षेत्र नम्बर २ मा २० जना उम्मेदवारमध्ये १७ जनाको जमानत जफत छ । निर्वाचन कार्यालय बाँकेका अनुसार क्षेत्र नम्बर २ मा पनि रास्वपा, एमाले र कांग्रेसका उम्मेदवारले मात्र धरौटी जोगाउन सके ।
यसैगरी क्षेत्र नम्बर ३ मा १९ जनाको जमानत जोगिएन । रास्वपा, कांग्रेस र एमालेले मात्र जमानत जोगाउन सफल भए । यहाँ २२ जना उम्मेदवार चुनावी मैदानमा थिए । नेपाली कम्युनिष्ट पार्टी, राप्रपा लगायतका दलका उम्मेदवारले समेत जमानत जोगाउन सकेनन् ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन् । यीमध्ये १ लाख ७८ हजार १ सय ३९ पुरुष, १ लाख ७२ हजार २ सय २३ महिला र नौ जना अन्य मतदाता रहेका थिए ।