— देशैभर खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला विराटनगर भन्सार कार्यालयबाट दुई दिनमा ३ लाख ४५ हजार ७ सय ८३ किलो ग्यास नेपाल भित्रिएको छ ।
भन्सार कार्यालयका अनुसार पछिल्ला दुई दिनमा उक्त परिमाणको एलपी ग्यास आयात भएको हो । बजारमा ग्यासको आपूर्ति घट्दै जाँदा उपभोक्ताले समस्या भोगिरहेका बेला ठूलो परिमाणमा ग्यास भित्रिएको हो ।
भन्सार स्रोतका अनुसार आयात गरिएको ग्यास विभिन्न ग्यास उद्योगमार्फत देशका विभिन्न क्षेत्रमा पठाइनेछ । यसले बजारमा देखिएको ग्यास अभाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
पछिल्ला दिनहरूमा ढुवानी व्यवस्थापन तथा आपूर्ति प्रक्रियामा आएको अवरोधका कारण देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको छ । ग्यास डिलरहरूले समेत मागअनुसार आपूर्ति गर्न नसक्दा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।