— प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ चार सिट प्राप्त गरेको श्रम संस्कृति पार्टीभित्र सांसद बन्ने आकांक्षीको संख्या बढेपछि आन्तरिक बहस र विवाद चर्किएको छ। सीमित सिट र बढ्दो दाबीका बीच पार्टीका दुई उम्मेदवारले भने स्वैच्छिक रूपमा आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार जीवन विष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन्। विष्ट खस आर्य पुरुषतर्फको बन्दसूचीमा पहिलो नम्बरमा रहेका थिए भने सिंगक आदिवासी जनजाति महिलातर्फ तेस्रो नम्बरमा थिइन्। चार सिट मात्र प्राप्त भएको अवस्थामा आफ्नो नाम कायम राख्दा पार्टीभित्र थप विवाद बढ्न सक्ने भन्दै उनीहरूले पछि हट्ने निर्णय गरेको बताएका छन्।
जीवन विष्टले आफ्नो नाम फिर्ता गरेको घोषणा सार्वजनिक गर्दै गोर्खा लाहुरे समुदायको प्रतिनिधित्व संसद्मा हुनुपर्ने धारणा राखेका छन्। उनले पुरुषतर्फबाट भूपू गोर्खा क्याप्टेन पूर्ण लिम्बूलाई समानुपातिक बन्दसूचीबाट पठाउन पार्टीलाई अनुरोध गरेका छन्। विष्टले सामाजिक सञ्जालमार्फत लेखेका छन् कि संसद्मा विविध समुदायको प्रतिनिधित्व हुनुपर्ने भएकाले आफ्नो स्थान अरूलाई दिन तयार भएको बताए।
ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
मीना सिंगकले पनि समानुपातिक सिट कम र आकांक्षी धेरै भएको अवस्थालाई ध्यानमा राख्दै आफ्नो नाम फिर्ता लिएको उल्लेख गरेकी छिन्। उनले पार्टीमा आफ्नो उपस्थितिका कारण कुनै बाधा वा अवरोध सिर्जना नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको बताएकी हुन्। आदिवासी जनजाति महिलातर्फ उनी तेस्रो नम्बरमा रहेका कारण चार सिटको गणनामा उनको सम्भावना निकै कम थियो।
पार्टीले समानुपातिकतर्फ चार सिट मात्र प्राप्त गरेपछि आकांक्षीहरूको दाबी बढ्दै गएको छ । पार्टीको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरुको आकांक्षाले लफडा सुरु भएको देखिन्छ । आदिबासी जनजातितर्फको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी समला साम्पाङ राईले मिडियामार्फत आफू सांसद हुनैपर्ने दाबी गरेपछि समानुपातिकको विवाद बढेको हो । यस्तै, बन्दसूचीमा रहेकी आशा लामा पनि आफूलाई सांसद बनाउनुपर्ने भन्दै दबाब दिन काठमाडौंबाट धरान आएकी छिन् ।
समला साम्पाङ राईले आफूले संघर्षको बेलादेखि साथ दिएकाले सांसद बन्न पाउनुपर्ने बताएकी थिइन् । उनले सांसद बनाउन अध्यक्षको हातमा हुने भन्दै आफूभन्दा धेरै संघर्ष गर्ने आए छोडिदिने तर कम योगदान गरेका सांसद भए राम्रो नहुने बताएकी थिइन् ।
यसबीच पार्टी अध्यक्ष हर्क साम्पाङले समानुपातिक सिटका लागि अत्यधिक दबाब दिने वा सार्वजनिक रूपमा 'रोइलो' गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्नेसम्मको चेतावनी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा 'भात खाऊ, मेरो टाउको नखाऊ, अब उप्रान्त सामानुपातिकको विषयमा रोइलो गर्नेजति सबैलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु । हद भो' भन्दै स्टाटस लेखेका थिए । यो घटनाले पार्टीभित्रको आन्तरिक अनुशासन र नेतृत्वको दबाबलाई पनि उजागर गरेको छ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
संवैधानिक प्रावधानअनुसार समानुपातिकबाट प्राप्त सिटमा निश्चित समावेशिता सुनिश्चित गर्नुपर्छ। चार सिट पाएको अवस्थामा कम्तीमा तीन जना महिला अनिवार्य रूपमा पठाउनुपर्ने हुन्छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन जना पुरुष सांसद जितेका कारण समानुपातिकतर्फ महिला प्रतिनिधित्व अनिवार्य बनेको हो।
यस सन्दर्भमा विभिन्न क्लष्टरबाट पहिलो नम्बरमा रहेका महिला उम्मेदवारहरू सम्भावित सांसदका रूपमा चर्चामा छन्। आदिवासी जनजाति महिलातर्फ मकवानपुरकी मन्दिरा मोक्तान बन्दसूचीको पहिलो नम्बरमा छिन्। दलित महिलातर्फ सुर्खेतकी राधिका रम्तेल, थारु महिलातर्फ कैलालीकी सरस्वती चौधरी, मुस्लिम महिलातर्फ महोत्तरीकी सफिना खातुन र मधेशी महिलातर्फ सर्लाहीकी रेणुदेवी पहिलो नम्बरमा रहेका उम्मेदवार हुन्।
पार्टीले संविधान र निर्वाचन आयोगको मापदण्डअनुसार क्लष्टर मिलाएर तीन जना महिला समानुपातिक सांसद सिफारिस गर्नुपर्ने हुन्छ। यसले गर्दा अन्तिम छनोटमा समुदायगत सन्तुलन, लैंगिक प्रतिनिधित्व र राजनीतिक योगदानजस्ता विषय निर्णायक बन्ने देखिन्छ।
यता, खसआर्य पुरुषतर्फ सांसद बन्ने सम्भावना रहेका जीवन विष्टले नाम फिर्ता लिने घोषणा गरेपछि भूपू गोर्खा क्याप्टेन पूर्ण लिम्बूको सम्भावना बढेको बताइन्छ। पार्टी स्रोतका अनुसार अध्यक्ष साम्पाङ स्वयं पनि लिम्बूलाई सांसद बनाउने पक्षमा देखिएका छन्।
ads/1440x233px-dew-aston-0432026041034.png
पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार अहिलेसम्म सामानुपातिक सांसदको नाम टुङ्गो लागिसकेको छैन । आन्तरिक बैठकमा ती नामबारे छलफल भइरहेको उनले बताए ।