— पटिहानीको घट्गाईदेखि पूर्व बेलसहर वन हुँदै दुधौरासम्म आइतबारदेखि पर्यटकीय जिप सफारी सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वन क्षेत्र समेटेर जिप सफारी सुरु भएको हो । निकुञ्जको पहिटानी मध्यवर्ती उपभोक्ता समिति र बेलसहर मध्यवर्ती सामुदायिक वनले यो सेवा सञ्चालन गरेका हुन् ।
घट्गाई बेलसहर दुधौरा जिप सफारी सञ्चालक समितिका संयोजक रहेका पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजन महतोले पटिहानीमा पछिल्लो समय पर्यटकीय गतिविधि राम्रो हुँदै गएको बताए । उनले यहाँ आउने पर्यटकलाई सेवा दिन र संरक्षणको लाभ समुदायमा पुर्याउन सफारी सुरु गरेको बताए । पटिहानीबाट २०७४ पुसमा पनि जिप सफारी सुरु भएको थियो ।
लामो समय नचलेको जिप सफारीको त्यो बेलाका कमजोरी सुधार गरेर नयाँ ढंगले काम अगाडि बढाएको महतोले बताए । पटिहानी घट्गाई क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै पर्छ । यहाँ विदेशी पर्यटक आएर बस्ने स्तरीय होटल, रिसोर्ट ४० को दशकमै खुलेका थिए । पछिल्ला वर्षमा यहाँ थप स्तरीय होटल विस्तार हुँदै गएका छन् । यहाँ विदेशी पर्यटक धेरै आउने गरेका छन् ।
निकुञ्जको आडमा रहेको राप्ती नदीको किनार हुँदै मध्यवर्ती वनमा जिप सफारी गर्दा गैंडा, चित्तल जस्ता जनावर र राप्तीमा घडियाल, विभिन्न चरा र बाघ पनि देख्न सकिने महतोले बताए । सफारीको जिप जंगल क्षेत्र हुँदै अगाडि बढ्छ । कुनै ठाउँमा रोकेर नदी किनारको दृश्य हेर्न सकिने सुविधा पनि पर्यटकलाई छ । झण्डै १२ किलोमिटर दुरीमा दुई घण्टा सफारी गर्न सकिने महतोले बताए ।
ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
सफारीमा जाने नेपालीले दुई सय र विदेशीले पाँच सय रुपैयाँ संरक्षण शुल्क तिर्नु पर्छ । एउटा जिपको एक पटकको प्रवेश शुल्क १ हजार रुपैयाँ छ । बिहान र साँझ गरी दुई चरणमा सफारी गर्न लागेको उनले बताए । बिहान १२ र साँझ १२ गरी दिनमा २४ पटक मात्रै जिपहरु सफारीमा जान पाउने गरेर कार्यविधि तय गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले बताए ।
होहल्ला र फोहर नगरी सफारी गर्नुपर्ने सर्त निकुञ्जको छ । एउटा जिपमा बढीमा १० जना राख्न पाइने छ । ‘संरक्षण भए मात्र पर्यटन दिगो हुन्छ । यसअघि पनि सफारी सुरु भएको थियो । त्यो किन चलेन भन्ने सोधखोज गरी सुधारका साथ फेरि सफारी सुरु भएको छ । त्यसैले संरक्षणलाई असर नपर्ने गरेर सफारी कायम राख्नु पर्ने हुन्छ,’ पन्तले भने । सफारीको पूर्वी अन्तिम विन्दु दुधौरा पर्यटकीय क्षेत्र सौराहा र खोरसोरको हात्ती प्रजनन् केन्द्रबाट नजिक नजिक पर्छ ।
निकुञ्ज र मध्यवर्ती संवेदनशील क्षेत्र हो भन्ने ख्याल राख्नुपर्ने पन्त बताउँछन् । चितवन निकुञ्ज आडका मध्यवर्ती वनहरुले जिप सफारी सञ्चालन गर्दै आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकको प्रमुख रोजाइभित्र जिप सफारी पनि पर्छ । निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका वनमा सफारी सञ्चालन हुँदै आएको छ । निकुञ्जभित्र बर्खामा सफारी बन्द भए पनि मध्यवर्ती वनहरुमा कायमै रहने गरेको छ ।
चितवन निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा ७९ वटा मध्यवर्ती सामुदायिक वन छन् । तीमध्ये १७ वटामा जिप सफारी सञ्चालन हुने गरेको उनले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मकवानपुर र पर्सा पर्छन् । निकुञ्ज घुम्न वर्षमा देशविदेशबाट तीन लाख पर्यटक आउने गरेका छन् ।