— प्रहरीले पर्साबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो करिब सवा १२ बजेको समयमा वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सवारी चेकजाँचका क्रममा उक्त लागूऔषध बरामद गरिएको हो।
प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगन्ज बसपार्कबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २७६५ नम्बरको टाटा सुमो रोकी जाँच गर्दा गाडीको छतमा पहेँलो त्रिपालले ढाकी राखिएको झोला र बोराभित्र लुकाइछिपाइ राखिएको ट्रामाडोल हाइड्रोक्लोराइड लेखिएका ५२ हजार ३ सय क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा बारा परवानीपुर गाउँपालिका–१ रहरिया डिह बस्ने ४२ वर्षीय राम अशिष राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका–२ सिसियाडी बस्ने ३० वर्षीय सुवास सर्राफलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार बरामद लागूऔषधसहित पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।