— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ ।
ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो । मौज्दातमा रहेको ग्यास सिलिण्डर नेपाल आयल निगमको समन्वय र रोहवरमा बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
कुनै वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने काम गरेकाले उद्योगलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड छ बमोजिम काम गरेको विभागले जनाएको छ । विभागले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलपा गर्न नहुने भनेको छ । तर, उक्त ग्यास उद्योगले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको विभागको ठहर छ । दफा ३९ को उपदफा १ को ख मा २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने उल्लेख छ । सोही अनुसार विभागले जरिवाना गरेको हो ।
ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर गर्ने गरी कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगरी वितरण प्रणाली सहज गर्न समेत विभागले ग्यास उत्पादक (बोटलिङ) उद्योग र वितरकलाई आग्रह गरेको छ ।
स्वच्छ र प्रातिस्पर्धी बजार सिर्जना गर्न, आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृतिम अभाव लगायतका गैरकानुनी व्यापारिक क्रियाकलाप नियन्त्रण गर्न विभाग क्रियाशील रहेको विज्ञप्तीमा उल्लेख छ । विभागका अनुसार ७.१ केजी ग्यास वितरणको नीतिसँगै बजारमा ग्यासको आपूर्ति सहज बन्दै गएको छ भने केही दिनमा सामान्यीकरण हुँदै जानेछ । अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा विभागले टोल फ्रि नं. ११३७ मा जानकारी गराउनसमेत भनेको छ ।