— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम उल्लङ्घनका कारण भएको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।
उनका अनुसार ट्राफिक नियम उल्लंघन, ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन, चालकको असक्षमता (बिना सवारी चालक अनुमतिपत्र), लापरवाही, जथाभावी बाटो काट्ने पैदलयात्री, यान्त्रिक गडबडी, ओभरलोड, सडक तथा मौसमको अवस्था र चौपायाको कारण दुर्घटना भइरहेका छन् ।
ट्राफिक प्रहरीबाट फागुन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ६३७ सवारी साधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट ५ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । सवारीसाधन अनुसार कारबाही गर्दा ट्रक तथा ट्यांकर ६७, बस तथा मिनिबस ४८, कार जिप भ्यान १०७, ट्याक्टर ३४, मोटरसाइकल २७५ र टेम्पो तथा अन्य १०६ सवारी साधनमाथि कारबाही गरिएको शाहीले बताए ।
उनका अनुसार ट्राफिक प्रहरीले सडक सुरक्षा ट्राफिक नियम कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रमलाई सक्रिय रूपमा सञ्चालन गरिरहेको ट्राफिक प्रमुख शाहीले बताए ।
एक महिनामा ट्राफिक प्रहरीले सडक सुरक्षा सम्बन्धी १०१ वटा सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यस्तै चालकसँग १ मिनेट कार्यक्रम पनि सञ्चालन गरिएको छ । ७७ पटक सञ्चालन गरिएको यो कार्यक्रममा ६ हजार ६६३ जना चालक लाभान्वित भएका ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै पैदल यात्रु लक्षित ८ वटा कार्यक्रम सञ्चालन गरिएकोमा ५१६ जना लाभान्वित भएको र संघसंस्थामा लक्षित १६ वटा कार्यक्रम मार्फत १ हजार ७५४ जना लाभान्वित भएका ट्राफिक प्रहरी प्रमुख शाही बताउँछन् । दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको उनले बताए ।