: गैरआवासीय नेपाली संघको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सोमबार राजधानीमा सम्पन्न भएको छ। फागुन ३० देखि चैत २ सम्म चलेको महाधिवेशनले संघभित्रको एकतालाई सुदृढ गर्दै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि कानुनी र नीतिगत सुधारलाई मुख्य एजेन्डा बनाएको छ।
सम्मेलनले नेपालको संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन यथाशीघ्र संशोधन गर्न सरकारसँग जोडदार माग गरेको छ। गैरआवासीय नेपालीको लगानीलाई सरल र सहज बनाउन एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, तथा विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनमा रहेका जटिलता हटाउनुपर्ने निष्कर्ष सम्मेलनको छ।
‘संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्न कानुनी अड्चनहरू बाधक छन्। गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आवश्यक पर्ने नीतिगत सुधार र ऐन संशोधनको प्रक्रियालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ।
एनआरएनएले नेपाल सरकार र एनआरएनको संयुक्त लगानीमा स्थापित ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मार्फत ८५ प्रतिशत धितोपत्रको सीमा कायम गरी लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएको छ। सम्मेलनले विश्वभर रहेका नेपाली श्रमिकहरूको सुरक्षा र सम्मानजनक रोजगारीका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
प्रवासमा जन्मिएको दोस्रो पुस्ताका युवाहरूलाई नेपालको कला, संस्कृति र इतिहाससँग जोड्न डिजिटल माध्यम र शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने संकल्पसमेत सम्मेलनले गरेको छ। सम्मेलनले हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
मातृभूमिमा लगानी गर्न प्रधानमन्त्री कार्कीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सीप र पुँजी मातृभूमिको विकासमा परिचालन गर्न आह्वान गरेकी छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं विश्व सम्मेलनको समापन सत्रलाई सोमबार सम्बोधन गर्दै उनले नेपालको आर्थिक समृद्धि र पर्यावरणीय संरक्षणका लागि सरकार र प्रवासमा रहेका नेपालीबीच बलियो सहकार्य आवश्यक रहेको बताइन् । उनले संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकताले मातृभूमि र प्रवासी नेपालीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै नयाँ बन्ने सरकारले वैदेशिक लगानी सुरक्षित र पारदर्शी बनाउन प्राथमिकता दिने प्रतिबद्धता जनाइन् ।
समापन समारोहमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, विनोद कुँवर तथा निर्वतमान अध्यक्षहरू डा. बद्री केसी र महेशकुमार श्रेष्ठले समृद्ध नेपाल निर्माणमा रणनीतिक साझेदारी र एकताको महŒवमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संस्थाको पुनर्संरचना, अनलाइन प्रणालीबाट निर्वाचन र वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधानका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने जस्ता योजनाहरू प्रस्तुत गरे ।