: तीन महिनाअघि नेपाललाई ट्रान्जिट बनाएर युरोप जान खोज्ने इरानी नागरिकहरू पक्राउ परे। फरक फरक मितिमा नेपाल आएका उनीहरूले नक्कली राहदानी र नक्कली भिसा प्रयोग गरेका थिए। स्रोतका अनुसार उनीहरूले युरोपेली देश छिर्न नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेका थिए।
घटना १ : २०८२ मंसिर १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको उडानबाट भारत हुँदै नेदरल्यान्ड्स जाने क्रममा ३८ वर्षीय इरानी नागरिक मोसाइब कियामार्सी पक्राउ परे। नेपालको नक्कली भिसा लगाएको नक्कली राहदानीसहित उनी पक्राउ परेका थिए।
घटना २ : २०८२ पुस २ गते त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डिगो एयरलायन्सको विमानबाट भारत हुँदै बेलायत प्रस्थान गर्ने ३८ वर्षीय इरानी नागरिक लीला रोस्तामिबेल्मिरी पक्राउ परिन्। नक्कली राहदानी प्रयोग गरेको आरोपमा उनी पक्राउ परेकी थिइन्।
घटना ३ : २०८२ पुस १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानबाट युएई, चेक रिपब्लिक हुँदै इटाली जाने क्रममा २४ वर्षीया इरानी नागरिक अविन महमूदी मेहर र ३१ वर्षीया साबा सबौरी कोरुयेह पक्राउ परे। उनीहरू पनि नक्कली भिसासहित पक्राउ परेका थिए।
...
एयरलाइन्सको चेक-इन काउन्टरमा कागजात जाँच गर्ने क्रममा प्रयोग गरेको बेलायती राहदानी र त्यसमा रहेको नेपाली भिसा शंकास्पद देखिएपछि सुरक्षाकर्मीले इरानी नागरिक मोसाइब कियामार्सीलाई नियन्त्रमा लिएको थियो। उनले प्रयोग गरेको राहदानी नक्कली पुष्टि भएको थियो। उनले नक्कली बेलायती राहदानीमा नक्कली नेपाली भिसा प्रयोग गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।
त्यस्तै प्रकृतिको अर्को घटनामा इरानी नागरिक अविन महमूदी मेहर र साबा साबुरी कोरोयेह नेपाल प्रवेश गरेको भेटिएको थियो। स्रोतका अनुसार उनीहरू १५ दिने पर्यटक भिसामा नेपाल आएका थिए। तर, उनीहरूले नेपाल प्रवेश गर्दा प्रयोग गरेको राहदानी बुल्गेरियाको देखिए पनि त्यसको आधिकारिकता जाँच गर्दा राहदानीमा उल्लेखित विवरण वास्तविक नागरिकसँग मेल खाएको थिएन।
त्यस्तै लैला रोस्तामी बेलमिरी पनि नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परिन्। उनले प्रयोग गरेको बेलायती राहदानीको बायोग्राफिकल पृष्ठ नै नक्कली भएको बेलायतको राजदूतावासले पुष्टि गरेको स्रोतको भनाइ छ। उनी भारत हुँदै बेलायततर्फ उडान भर्ने तयारीमा रहेका बेला एयरलाइन्सका कर्मचारीले कागजात शंकास्पद देखेपछि अध्यागमन कार्यालयमा बुझाएका थिए। राहदानीमा प्रयोग गरिएको नेपाली भिसा पनि आधिकारिक अभिलेखमा नदेखिएको अध्यागमन स्रोतले अन्नपूर्णलाई बतायो।
नेपाल ट्रान्जिट, युरोप गन्तव्य
यी घटनाहरूले नेपाललाई ट्रान्जिट बनाएर युरोप प्रवेश गर्ने प्रयासको स्पष्ट ढाँचा देखाएका छन्। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार पर्यटक भिसा लिएर नेपाल प्रवेश गर्ने, त्यसपछि नक्कली वा परिवर्तन गरिएका युरोपेली राहदानी प्रयोग गरेर तेस्रो मुलुक हुँदै युरोपतर्फ उडान भर्ने योजना बनाएको देखिन्छ।
अलग-अलग समयमा भएका घटनाहरूमा प्रयोग गरिएको तरिका मिल्दोजुल्दो देखिएकाले सुरक्षा निकायले यसलाई व्यक्तिगत प्रयासमात्र नभएर संगठित गिरोहसँग पनि जोडेर अनुसन्धान गरिरहेका छन्। अन्तर्राष्ट्रिय मानव तस्करीका गिरोहहरूले नेपाललाई ट्रान्जिट बिन्दुका रूपमा प्रयोग गरिरहेको हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूको छ।
कसरी आए नेपाल?
नक्कली राहदानी र नक्कली भिसा प्रयोग गरी नेपाललाई ट्रान्जिट बनाएर युरोप पुग्ने प्रयास गरेका इरानी नागरिकहरूले अनुसन्धानका क्रममा दिएका बयानहरूले यस्तो प्रयासको पृष्ठभूमि पनि उजागर गरेका छन्। इरानमा देखिएको द्वन्द्व र आर्थिक तथा सामाजिक कारणले युरोप जान चाहेको उनीहरूले बयानमा भनेको स्रोतले बताएको छ।
मोसाइब कियामार्सी मंसिर ८ गते नेपाल आए। नेपालको १५ दिने पर्यटक भिसामा आउँदा उनले आफ्नो इरानी पासपोर्ट प्रयोग गरे। नेपालमा उनी १२ दिन बसेका थिए। नेदरल्यान्ड्समा काम गर्न जानका लागि उनले नेपालको बाटो प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ। त्यसका लागि उनलाई कुनै विदेशीले सहयोग गरेको बयान दिएका छन्।
'मलाई कुनै विदेशीले यसरी राहदानी बनाएर सहयोग गरेको थियो। त्यो व्यक्तिलाई मैले इन्स्टाग्राम भेटेको थिएँ। फरक-फरक टेलिफोनबाट मलाई कल गरेको विदेशीले इरानमै करिब १ महिना अगाडि राहदानी बनाएर स्ट्याम्प र भिसा लगाएर दिएका थिए, सो बापत २ हजार अमेरिकी डलर मैले तिरेको थिएँ,' उनले भनेका छन्।
बेलायती राहदानीमा नेपालको भिसा र स्ट्याम्प लगाएर ती विदेशीले इरानमै दिएको उनको भनाइ छ। उनले राहदानी र भिसा नक्कली भएको विषयमा आफू जानकार नभएको दाबी गरेका छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले युरोप जाने प्रयास गरेको उनले बयान दिएका छन्।
त्यस्तै इरानी नागरिकद्वय अविन महमूदी र साबा सबौरी कोरुयेह पुस ६ गते पर्यटक भिसामा नेपाल आए। नेपाल आउँदा उनीहरूले टर्किसबाट जारी भएको इरानी राहदानी प्रयोग गरेका थिए। तर, नेपालबाट दुबई हुँदै इटाली जाने क्रममा उनीहरुले बुल्गेरियाको राहदानी प्रयोग गरेका थिए। राहदानीमा उनीहरूको नाम मारिया मेरियानोभा र क्यामेलिया किरिलोभा उल्लेख छ। नेपालमा उनीहरुले ७ दिन बिताएका थिए। उनले इटालीमा शरणार्थीका रूपमा बस्न नेपालको रुट प्रयोग गरेको स्रोतले बताएको छ।
'बेटर लाइफ'को लागि इटालीमा शरणार्थीको रूपमा बस्न चाहन्थे। तर, अब चाहँदिन,' अविनले बयानमा भनेकी छन्। इरानमा महिलाको स्वतन्त्रता नभएकै कारण आफू इटाली जान चाहेको उनको भनाइ छ। टेलिग्रममार्फत एक जना व्यक्ति भेटेको र उनकै योजनाअनुसार बुल्गेरियाको राहदानी प्रयोग गरेर नेपाल आएकी थिइन्। त्यसका लागि उनले एक हजार अमेरिकी डलर तिरेकी थिइन्।
त्यस्तै लैला रोस्तामी बेलमिरीले भने आफू आफ्नो देशमा बस्न नसकेर विदेश जान बाध्य भएको उल्लेख गरेकी छन्। उनले आफूले प्रयोग गरेको राहदानी र भिषा नक्कली भएको थाहा नभएको बयान दिएकी छन्।
'मेरो देशमा मैले स्वतान्त्रता अनुभूत गर्न सकिनँ। पसलमा ग्राहकसमेत नआएपछि जीविकोपार्जनका लागि बेलायत जान चाहेकी हो,' बयानमा उनले भनेकी छन्। उक्त कार्यका लागि उनले टर्कीएमा अहमिद भन्ने व्यक्तिलाई भेटेको र १५ सय युरोसमेत लिएको बताएकी छन्।
त्यस्तै लैला रोस्तामी मंसिर २३ गते नेपाल आएकी थिइन्। पर्यटक
भिसामा नेपाल आएका उनी काठमाडौंमा ९ दिन बिताएकी थिइन्। उनले काठमाडौं आसपासका सांस्कृति सम्पदाहरू घुमेको बयानमा भनेकी छन्।
इरानी नागरिकहरूको नेपाललाई ट्रान्जिट बनाएर युरोप पुग्ने प्रयास मानव तस्करीको ठूलो जालो रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ।
नेपालमा पर्यटक भिसा लिएर सहज रूपमा प्रवेश गर्न सकिने, दक्षिण एशियाली ट्रान्जिट उडानहरू उपलब्ध हुने तथा त्यसपछि तेस्रो मुलुक हुँदै युरोप पुग्ने सम्भावना रहने भएकाले मानव तस्करहरूले नेपाललाई ट्रान्जिट बिन्दुका रूपमा प्रयोग गर्न थालेको अधिकारीहरुको दाबी छ।
अनुसन्धानपछि नेपालले चारैजना इरानी नागरिकलाई निष्कासन गरेको थियो।
इरानी नागरिकलाई अनअराइभल भिसा पनि बन्द
गृह मन्त्रालयले इरानी नागरिकहरूलाई आगमन प्रवेशज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरेको छ। इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा नदिने निर्णय गृह मन्त्रालयले गरेको हो। इरानमा देखिएको तनावका कारण इरानी नागरिकहरू नेपाल आउने क्रम बढेपछि गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अब इरानी नागरिकहरूले अब नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउनु पर्नेछ।