। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् ।
केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ गते भागेकामध्ये एक हजार २०० जनाको हाराहारीमा कैदीबन्दी अझै फरार रहेको बताए ।
‘भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, त्यो दिन तीन हजार ५१७ कैदीबन्दी भागे,’ सूचना अधिकारी रेग्मीले भने, ‘तीमध्ये अधिकांश कैदीबन्दी फिर्ता भइसकेका छन् । एक हजार २०० कैदीबन्दी आउन बाँकी छन् ।’
हाल केन्द्रीय कारागारमा तीन हजार ३१३ कैदीबन्दी छन् । जसमध्ये एक हजार ९२० कैदी, एक हजार ४९३ थुनुवा छन् । केन्द्रीय कारागारमा एक हजार ७४९, भद्र जेलमा एक हजार २५० र महिला जेलमा ३१४ कैदीबन्दी रहेको सूचना अधिकारी रेग्मीले बताए ।
केन्द्रीय कारागारमा जेनजी आन्दोलनका क्रममा सामान्य क्षति भएको थियो । कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुन: कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ । –रासस