— नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि प्राविधिक मूल्यांकन सकेर आर्थिक मूल्यांकनको काम अघि बढाइएको छ । सुरुङ सञ्चालन गर्न खरिद प्रक्रियामा सहभागी १० मध्ये ७ कम्पनी सफल भएका हुन् । सातबाट अब एउटा मात्र कम्पनी छानिनेछ । अहिले ६ चिनियाँ र एउटा भारतीय कम्पनी प्रतिस्पर्धामा छन् । जहाँ सबैसँग नेपाली कम्पनी ज्वाइन्ट भेन्चर (जेभी) मा छन् ।
१५ दिनभित्र सुरुङ सञ्चालन गर्ने कम्पनी छानिसकिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालको दाबी छ । ‘आर्थिक मूल्यांकनको काम भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र आर्थिक मूल्यांकनको प्रक्रिया टुंगिन्छ ।’ नयाँ आउने सरकारले सबै प्रक्रिया टुंग्याएर सञ्चालन मितिबारे निर्णय गरेपछि सुरुङबाट गाडी चल्छन् ।
जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणमा सुरुङ निर्माण गरिएको हो । कालोसूचीमा परेका कम्पनीलाई सुरुङ सञ्चालन गर्न दिन नहुनेमा जापान सरकारको जोड छ । आयोजनाका अनुसार अहिले प्रतिस्पर्धामा रहेका कुनै पनि कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत कालोसूचीमा छैनन् ।
‘सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनी छानिएका छैनन्,’ प्रमुख नेपालले भने, ‘प्राविधिक मूल्यांकनका क्रममा कालोसूचीमा परेको भेटिएन, खरिद ऐन, कानुनबमोजिम जे–जे हेर्नुपर्ने हो, त्यो हेरेका छौं ।’ नेपालमा ठेक्का लिने विदेशी कम्पनीलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने भएकाले अहिले प्रतिस्पर्धामा रहेका कम्पनी त्यस्तोमा नरहेको उनको भनाइ छ । आयोजना स्रोतका अनुसार बाह्य मुलुकमा कालोसूचीमा छन् कि छैनन् भनेर हेरिए पनि कैफियत भेटिएन ।
जापान सरकारलाई कस्तो कम्पनी छानिने हो भन्नेमा चासो छ । विश्वका ठूला ९ वटा बैंक रहेको र सर्टलिस्टमा परेका कम्पनी सामान्यतया ती बैंकअन्तर्गत कालोसूचीमा परेका छन् कि छैनन् भनेर हेर्ने गरिएको पूर्वसचिव अर्जुनजंग थापाले बताए । ‘जुन सार्वजनिक रूपमै वेबसाइटमा प्रकाशन गरिएको हुन्छ,’ उनले भने, ‘यसबाहेकको हकमा कालोसूचीमा परेका छन् भनेर कतैबाट सूचना आउनुपर्छ ।’
नागढुंगा सुरुङको काम ९८ प्रतिशत सकिइसकेको छ । अहिले धादिङतर्फ पहिरो व्यवस्थापन र टोल प्लाजा बनाउनेबाहेक सबै काम सकिइसकेको छ । सुरुङ सञ्चालन गर्ने प्रतिस्पर्धामा सुरुमा ६ वटा चिनियाँ, ३ वटा भारतीय र एउटा टर्किस कम्पनी सहभागी थिए । अहिले ‘सर्टलिस्ट’ मा ७ वटा कम्पनी छानिएका हुन् । चीन सरकारको स्वामित्वमा रहेका र कालोसूचीमा परेका कम्पनी छान्न नहुने जापान सरकारले अडान लिए पनि अहिले सेवा प्रदायकको अन्तिम प्रतिस्पर्धामा सबैभन्दा बढी नै चिनियाँ कम्पनी परेका हुन् ।
प्राविधिक मूल्यांकनमा पास हुने कम्पनीमा काष्ठमण्डप–गान्सु हेङटङ जेभी, एसएक्सआरबी–ब्राइट बुल जेभी छन् । यस्तै जेटीसीजी–डाँफे जेभी, चाइना फस्ट हाइवे इन्जिनियरिङ–समानान्तर जेभी, युसिन–एआरटी जेभी र वेदांशी–र्यानकेन जेभी छन् । यी सबै चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग जेभीमा बोलपत्र पेस गरेका हुन् । ईएमएसएल–पीएससीपीएल जेभी भने भारतीय कम्पनी हो ।
समयमै सेवा प्रदायक छनोट गर्न नसक्दा सुरुङ सञ्चालनमा समय लागेको हो । सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सेवा प्रदायक छान्न पहिलो पटक आयोजनाले गत १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । यसअनुसार बोलपत्र बुझाउने अन्तिम म्याद २ पुससम्म थियो । तर अन्तर्राष्ट्रिय निर्माण कम्पनी र नेपाली निर्माण व्यवसायीको मागअनुसार पहिलो पटक १६ पुससम्म म्याद थप गरियो ।
यस अवधिमा निर्माण व्यवसायीबाटै आयोजनाले राखेका प्रावधानका केही बुँदामा स्पष्ट हुन नसकिएको भन्दै स्पष्ट पार्न माग आएपछि ३० पुससम्मलाई समय थपिएको थियो । सुरुङ सञ्चालनमा १ सय ५० जना जनशक्ति परिचालन हुनेछन् । त्यसका लागि तालिमको समय दुई महिना छुट्याइएको छ । सुरुङ सञ्चालनमा खटिने कर्मचारीको व्यवस्थापन छनोट हुने सेवा प्रदायकले गर्नेछ । सहभागी जनशक्तिलाई परीक्षणका रूपमा सुरुङ सञ्चालन गरेर देखाइनेछ ।
अन्तर्राष्ट्रिय बोलपत्र भएकाले नेपाली कम्पनीसँग विदेशी कम्पनीलाई अनिवार्य रूपमा जोइन्ट भेन्चर गराइएको आयोजनाले जनायो । यस्तो प्रावधानले सुरुङ सञ्चालन गर्न नेपाली प्राविधिक तयार हुने र पछि नेपाली आफैंबाट सुरुङ सञ्चालन गर्न सहज हुनेछ । अहिले छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।
पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । चौबीसै घण्टा सेवा प्रदायकले ३ सय ६५ दिन नै सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । सञ्चालन गर्न लाग्ने लागत भने सरकारले बेहोर्ने र छानिने सेवा प्रदायकले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । अहिले जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । करिब साढे ५ अर्ब रुपैयाँ ऋण थप गर्ने तयारीसहितको कागजात अर्थ मन्त्रालयमा पुगे पनि यसको प्रक्रिया टुंगिइसकेको छैन ।
४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।