— राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा मिलेको जितका सम्बन्धमा चिनियाँ कम्युनिस्ट पार्टीले बधाई तथा शुभकामना दिएको छ ।
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीबाट पार्टीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएको छ ।
खनालले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले सन्देश पठाएको हो । 'सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ,' खनालले भने ।
पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि 'साझा भविष्यसहितको समुदाय' निर्माण गर्ने संकल्प दोहोर्याइएको खनालले जानकारी दिए । 'सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वाससमेत व्यक्त गरिएको छ,' खनालले भने ।
चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको पनि खनालले जानकारी दिए ।
रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्ने खनालले बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको शुभेच्छा र ऐक्यबद्धताका लागि पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरेको पनि खनालले जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले १ सय ८२ सिट जितेकोमा चिनियाँ कम्युनिस्ट पार्टीले बधाई तथा शुभकामना सन्देश पठाएको हो ।